चितवन, ३२ साउन । चितवनको रत्ननगर नगरपालिकाले गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक सेवा सुरु गरेको छ । पालिकाका १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्नेगरी सेवा सुरु गरिएको हो ।
नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार कृषि र पशुपालनको विकासको प्राविधिक सेवा सुरु गरिएको छ । नगर गौरवको योजनाअन्तर्गत यस कार्यक्रमलाई अघि बढाइएको बताउँदै उनले प्रभावकारीरुपमा अगाडि बढाइने बताए । उनले भने, “कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा सुरु गरिएको हो ।”
यो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षका लागि रु ८० लाख बजेट विनियोजन जानकारी दिँदै उनले पशुपालनको विकास गरी दूध उत्पादन बढाउन घाँसमा प्रतिकट्ठा दुई हजार र दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वितरण गरिने बताए ।
कार्यक्रमअन्तर्गत १६ वटै वडामा महिनाको एकपटक विज्ञसहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने उनको भनाइ छ । उनले भने, “प्राविधिक सेवाको उपलब्धताका लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।”
यसैगरी विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । हाललाई कृषिमा तीन र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको छ ।
पशुशाखा प्रमुख शालिग्राम पौडेलका अनुसार गोठ र खेतमा पुगेका प्राविधिकले उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् । पशुपालनतर्फ रत्ननगरमा एक सय १५ वटा गाईफार्म र २५ वटा व्यावसायिक भैँसी फार्म रहेका छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । कृषितर्फ रत्ननगरमा १५ हजार किसानले खेती गर्दै आएको नगरपालिकाको तथ्याङ्क छ । रासस









