हेटौँडा, ३ भदौ । बागमती प्रदेशको राजधानी हेटौँँडा बजारदेखि करिब २५–३० किलोमिटरको दूरीमा छ, बुढिचौर । समुन्द्री सतहदेखि १३०० मीटरसम्मको उचाइमा रहेको मकवानपुरगढी गाउँपालिका वडा नं ८ बुढिचौर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण, जैविक विविधतायुक्त र कृषि विकासको निकै सम्भावना बोकेको क्षेत्र हो । यस वडाका करिब ९० प्रतिशत बासिन्दाले कृषि पेशालाई मुख्य पेशा बनाइ जीविकोपार्जन गरिरहेका छन् ।
अधिकांश युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशिने क्रम दिनानुदिन बढ्दै गइरहेको अवस्थामा मकवानपुरगढी गाउँपालिका वडा नं ८ बुढिचौरमा कृषि पेशा व्यवसायमा तुलनात्मक रूपमा युवाको बाहुल्यता रहेको देखिन्छ । युवाहरूले गाउँभरि टनेल बनाएर सेताम्मे बनाएका छन् र आफ्नै गाउँको माटोमा भविष्य खोजिरहेका छन् ।
यस्ता युवा पुस्ताहरुलाई कृषि पेशा व्यवसायमा अभिप्रेरित गरी उत्साह थप्न सरकारले गम्भीरतापूर्वक लाग्नु पर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउँछन् । गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले ५० जना कृषकको खेतमा अनुगमन गर्दा कृषकहरूले थुप्रै समस्या भोग्दै आइरहेको बताएका छन् ।
आफू पनि किसानको छोरा भएको र अहिले पनि आफू बिहान–बेलुका कृषि कर्म नै गर्ने भएकाले बुढीचौरबासीलाई धन्यवाद दिँदै उनले पशुपालनका साथै टमाटर खेतीमा अग्रस्थानमा रहेको यस वडा अन्य तरकारी बाली र अलैँची खेतीमा पनि सम्भावना प्रवल रहेकाले पालिकाले भरपूर सहयोग गर्ने बताए ।
कृषकहरुको मेहनत र लगनशीलतालाई उच्च कदर गर्दै गाउँपालिका अध्यक्षले उत्पादनमुखी योजनालाई पालिकाले प्राथमिकतामा राखेको बताउँदै यस वर्ष बुढिचौरको तरकारी उत्पादनलाई मध्यनजर गर्दै ईक्चुङ–सुकौरा हुँदै हेटौँडासम्म दैनिक रूपमा सवारीसाधन आवतजावत गर्न सक्ने वातावरण मिलाइएको बताए । अगामी दिनमा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी थप कृषिको क्षेत्रमा लगानी भित्र्याउने उनले बताएका छन् ।
आफू पनि किसानको छोरा भएको र अहिले पनि आफू बिहान–बेलुका कृषि कर्म नै गर्ने भएकाले बुढीचौरबासीलाई धन्यवाद दिँदै उनले पशुपालनका साथै टमाटर खेतीमा अग्रस्थानमा रहेको यस वडा अन्य तरकारी बाली र अलैँची खेतीमा पनि सम्भावना प्रवल रहेकाले पालिकाले भरपूर सहयोग गर्ने बताए ।
२०७४ सालमा नै वडालाई कृषि पकेट क्षेत्रको घोषणा गरे तापनि घोषणाअनुसारको काम नभएकाले अब वडालाई कृषि विशेष आर्थिक क्षेत्र घोषणा गर्नका निम्ति पहल गर्ने बताए ।
समयमा गुणस्तरीय कृषि सामग्री नपाउनु, रोगकिराको प्रकोप, प्राकृतिक प्रकोप, यातायातको समस्या र बजारीकरणलगायतका समस्याका बावजुद कृषकहरूले आफ्नै पौरखमा खेतबारी हराभरा बनाएका चौधरी बताउँछन् ।
तीन महिनामा डेढ करोडको तरकारी निर्यात
मकवानपुरगढी ८ बुढिचौरमा १ सय ५० कृषकले टनेल बनाइ गोलभेँडा खेतीका साथै काउली, बन्दा, रायोसाग, अकबरे खुर्सानी, काँक्रो, धनियाँ, केराउ र ईस्कुसलगायतका तरकारीहरू उत्पादन गर्दै आएका छन् । एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले उपलब्ध गराएको तथ्यांकअनुसार जेठ महिनादेखि साउन महिनासम्म तीन महिनाको अवधिमा १५० मेटन गोलभेँडा र अन्य तरकारी गरी डेढ करोड रुपैँयाबराबरको तरकारी निर्यात भएको सहकारीका व्यवस्थापक गुञ्जरत्न लुङ्वाले जानकारी दिए ।
दैनिक १ हजार लिटर भन्दा बढी दुध संकलन
एकता स्वाबलम्बन कृषि सहकारी संस्थाले दूध संकलनको शुरुवात गरेसँगै गाई–भैंसी पाल्ने कृषकको संख्या बढ्दै गएको छ । हाल दैनिक रूपमा बिहान र बेलुका गरी १ हजार लिटर दुध संकलन भइरहेको पशु सेवा प्राविधिक कर्णबहादुर बिक बताउँछन् । अहिले ६८ कृषक परिवार पशुपालनमा संलग्न छन् । जसमा ५८ वटा गाई र १७ वटा भैंसी रहेका छन् । पशुपालन गर्ने कृषक र पशुको संख्यामा वृद्धि भइरहेको सहकारीका सचिव अजय योञ्जनले बताए ।









