काठमाडौं, ३ भदौ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ । भोलि राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविद्को प्रक्षेपण छ ।
भोलि रातिचाहिँ सुदूरपश्चिममा एरियल कभरेजको हिसाबले अलिकति बढी पानी पर्नेजस्तो देखिएको छ । तर देशैभर कभर गर्ने गरी ठूलो सिस्टम आउने दुई–तीन दिनसम्मलाई देखिँदैन ।
मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ । तर, दुईदिन पछि भने पुनः मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट उत्तर (नेपाल)तर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी रेखा सरदरस्थानभन्दा जति उत्तरतिर सर्यो, नेपालमा त्यति धेरै पानी पर्दछ ।
यद्यपि आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।









