काठमाडौँ, ३ भदौ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् । समाजवादी सहकारी सङ्गठन नेपालको बागमती प्रदेशस्तरीय भेलामा मन्त्री भुसालले यस्तो बताएका हुन् ।
यस्तै उनले धान आयात रोक्न जमिन बाँझो राख्न नहुने बताए । देशभर खेतीयोग्य जमिनमध्ये करिब १० लाख ३० हजार हेक्टर बाँझो रहेको उल्लेख गर्दै उनले ती जमिनको उपयोग गर्नुपर्ने बताए ।
धान आयात रोक्न बाँझो जमिनमा खेती गर्नुपर्नेमा जोड दिँदै त्यस कार्यका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरिएको बताए ।
सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेतीयोग्य बनाइने विश्वास दिलाउँदै उनले सामूहिक खेतीको अवधारणा पनि अघि बढाउन आवश्यक रहेको बताए ।
यसैबीच नेकपा (एकीकृत समाजवादी) को भातृ सङ्गठन समाजवादी सहकारी सङ्गठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशवप्रसाद दङ्गाल निर्वाचित भएका छन् । बागमती प्रदेशका १३ जिल्लाका सहकारी सञ्चालकको भेलाले दङ्गालको अध्यक्षमा ३५ सदस्य कमिटी गठन गरेको हो । सो कमिटीको उपाध्यक्षमा निरु खरेल, सचिवमा वसन्त माली, कोषाध्यक्षमा नरबहादुर श्रेष्ठ र सहसचिवमा रेशमलाल श्रेष्ठ चयन भएका छन् ।









