काठमाडौँ, ३ भदौ । चालू आर्थिक वर्षको बजेटमा पशुपंक्षी क्षेत्रका निकायलाई शून्य बजेट बनाएको भन्दै पशु क्षेत्रका सरोकारवालाले आन्दोलनको घोषणा गरेका छन्। बजेटमा पशुपंक्षीसँग सम्बन्धित विभिन्न निकायहरू, पशु क्वारेन्टाइन कार्यालयहरू, पशु रोग अन्वेषण प्रयोगशालाहरू, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, भेटेरेनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालालगायतका कार्यालयमा बजेट शून्य भएकोप्रति आपत्ति जनाएका हुन् ।
पशु रोग अन्वेषण प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग एकाइ कार्यालय, पशु आनुवंशिक स्रोत केन्द्रहरू, राष्ट्रिय दुग्ध विकास बोर्ड, मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्रहरू लगायतका अन्य कार्यालयहरूको चालू आर्थिक वर्ष पहिलो महिना बितिसक्दा समेत बजेट शून्य हुँदा पशु रोग नियन्त्रण, पशु आनुवंशिक स्रोत तथा मत्स्य प्रजातिको संरक्षण, खोप उत्पादन, पशु रोगको सर्भिलेन्स तथा रोग निदानका कार्यहरू बन्द हुँदासमेत सरकार जिम्मेवारबाट पन्छिएको भेटेरेनरी एसोसिएसनको भनाई छ ।
जसका कारण किसानको खर्बौँको क्षति हुँदा पनि पशुपंक्षीको रोग नियन्त्रण र उपचारमा सक्रिय रूपमा परिचालित हुनुपर्ने निकायहरूमा शून्य बजेट भई कामकाज नै ठप्प गरी बस्नुपर्ने अवस्थामा आइपुगेको सरोकारवालाहरूको दाबी छ। सरकारले खारेजी तथा पुनर्संरचनाको नाममा शून्य बजेट भएका सम्पूर्ण पशुपन्छी क्षेत्रका निकायमा विद्यमान संरचनाअनुसार चालू आर्थिक वर्षको प्रस्तावित बजेट तत्काल व्यवस्थापन गर्न आग्रह गरेका छन्।









