काठमाडौँ, ५ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रत्येक दिनका लागि तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गर्छ ।
तर मंगलबार भने समितिले अन्य तरकारी तथा फलफूलको संकलित थोक मूल्य विवरण सार्वजनिक गरे पनि प्याजको मूल्य भने सार्वजनिक गरेको छैन ।
समितिको वेवसाइटमा प्याज हरियो भनेर न्यूनतम २ सय रूपैयाँमा संकलन भएको देखिन्छ । तर सुकेको प्याजको मूल्य विवरण भने छैन ।
भारतले शनिबारदेखि लागू हुने गरी प्याजको निर्यातमा थप ४० प्रतिशत निर्यात महसुल लगाउने घोषणा गरेको छ ।
भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएपछि भारतको यस्तो निर्णयले नेपाली बजारमा प्याजको मूल्य महँगो भइसकेको छ ।
सोमबारमात्रै भारतीय सुकेको प्याज प्रतिकेजी न्यूनतम् ७५ रुपैयाँमा संकलन भएको समितिको विवरणमा छ । यद्यपि बजारमा उपभोक्ताले महँगो मूल्यमा प्याज खरीद गरिरहेका छन् ।
काठमाडौँको बल्खु बस्ने मनिस भट्ट प्याजको मूल्य एकाएक बढेको बताउँछन् । हिजोमात्रै आफूले ८५ रुपैयाँ प्रतिकेजीमा प्याज किनेको उनी बताउँछन् ।
‘भारतले निर्यातमा थप महसुल लगाएको थाहा पाएसँगै आज कालिमाटीले मूल्य विवरण नै सार्वजनिक गरेन ।’ भट्ट भन्छन्, ‘कतै कालिमाटीले नै बदमासी गरिरहेको छ छैन ?’
यस विषयमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीसँग जिज्ञासा राख्दा कुनै प्राविधिक त्रुटि भएको हुनसक्ने बताएका छन् ।
पुडासैनीले प्याजको स्टक नभएकाले पनि मूल्य सार्वजनिक नगरिएको हुनसक्ने एग्रोटाइम्सलाई बताएका छन् ।
गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो प्याज आयात गरेको थियो ।
आज कति छ तरकारी तथा फलफूलको मूल्य ?
आज टनेलको गोलभेँडाको भाउ न्यूनतम् प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।
समितिका अनुसार आज ठूलो गोलभेँडा (नेपाली)को न्यूनतम मूल्य १ सय १० रुपैयाँ रहेको छ ।
रातो आलु न्यूनतम् ५०, रातो आलु भारतीय ३५ र मुडेको रातो आलु ४८ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १ सय १० रुपैयाँ छ ।
लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ८०, सेतो मूला हाइब्रिड ७० रुपैयाँमा संकलन भएको छ ।









