चर्चित

कञ्चनपुर, ५ भदौ । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए । ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ’, उनले भने, ‘सङ्क्रमित पशुको उपचार भइरहेको छ ।’

खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । ‘ज्वरो आउने, र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ’, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भने, ‘यस्तै लक्षण देखिएपछि केही महिनाअघि ५० हजारमा किनेको भैँसी मर्‍याे, अहिले गोठ रित्तो छ ।’

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए ।

गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

‘लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ’, बेदकोट नगरपालिकाका मनोज जोशीले भने, ‘बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।’

सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ ।

लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय