धादिङ, ६ भदौ । धादिङको रुविभ्याली गाउँपालिका–१ मा पर्ने सबैभन्दा उपल्लो तिप्लिङ (मचेत) गाउँ चीनसँग सिमाना जोडिएको छ ।
गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले लरेन्स लामाले पाँच वर्षअघि स्याउ लगाएका थिए ।
कानुन विषय पढेका लामा गैरसरकारी संस्थामा जागिर गर्छन् । लामाले आफू बच्चा हुँदा घरमुनि करेसामा दुई बोट स्याउ बेस्सरी फलेको देखे ।
त्यसपछि उनलाई स्याउ फलाउने रहर जाग्यो । उनले आफ्नी दिदी प्रविनामाया लामा, आमा नेमारानी लामा र भाइ योहान लामाको सहयोगमा स्याउ लगाए ।
अहिले बारीभरि लटरम्म स्याउ फलेको छ । ‘मुस्ताङ घुम्न गएको बेला त्यहाँ फलेको देखेँ । जागिरको सिलसिलामा ठाउँ–ठाउँमा पुग्दा पनि स्याउ फलेको देखेँ । जागिरबाट एक महिनाको छुट्टी मिलाएर प्राविधिकको सल्लाहअनुसार मुस्ताङको मार्फाबाट रु १ सय २० का दरले बिरुवा ल्याएर लगाएँ”, लामा भन्छन्, “आमा र दिदीले नियमित हेरचाह गर्नुहुन्छ, अहिले पनि स्याउको बोट गोडमेल र छाँटकाँट गर्न वर्षमा तीन÷चारपटक दाजुभाइ नै गाउँ आउने गरेका छौँ ।’
तर भौगोलिक रूपमा विकट गाउँसम्म गाडी ल्याउन सकिएको छैन । जसका कारण स्याउ बेच्न बजार लान नसकिएको लामा बताउँछन् । बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पीर लागेको लामा सुनाउँछन् । हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी पुग्न दुई दिन लाग्छ । धादिङको गल्छी करिब एक सय ५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाले बताए ।
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाएका छन् । समग्रमा एक बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि दुई सय बोटमा छ हजार किलो स्याउ तयारी अवस्थामा छ । भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो रु चार सयको हाराहारीमा छ । तर लामाले बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा रु एक सय ५० मा दिइरहेका छन् । रु एक सय ५० किलोले नै हिसाब गर्ने हो भने पनि रु नौ लाख बराबरको स्याउ सडक नभएकै कारण बजार झार्न नसकिएको लामाको भनाइ छ ।
फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् ।









