मकवानपुरगढी गाउँपालिका वडा नं २ पौवाडाँडा निवासी बलराम बोम्जन १८ वर्ष नेपाली सेनामा सेवा गरि अवकाश पछि कृषि पेशामा लागेका छन् । नेपाली सेनाबाट अवकाश लिए पश्चात सँगैका साथीहरु विदेश जाँउ भनेको तर आफू विदेश नगई कृषि पेशा रोजेको बताएका छन् ।
आँफुसँगै अवकाश लिएका साथीहरु प्रायः वैदेशिक रोजगारीमा रहेको र अझै पनि बोलाईरहेको भए पनि बोम्जनलाई कृषि पेशामा रमाईलो लागिरहेको छ । उनी व्यवसायिक तरकारी खेतीसँगै बाख्रापालन गरिरहेका छन् । आफ्नै लगानीमा २ वटा टनेल बनाई तरकारी खेती शुरुवात गरेकोमा यस वर्ष गाउँपालिकाको सहयोगमा १ वटा टनेल थपेर हाल ३ वटा टनेलमा गोलभेडा उत्पादन भैरहेको छ । साथै खुल्लामा पनि तरकारी खेती लगाउने तयारी गरिरहेको र अगामी दिनमा थप क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको छ । हालसम्म तरकारी खेतीबाट राम्रै भईरहेको छ र बाख्रापालनबाट पनि केही आम्दानी हुन्छ । आफ्नै घर परिवारसँग बसेर कृषि पेशा गरिरहेकोमा आफू सन्तुष्ट रहेको समेत बताए ।









