काठमाडौँ, ७ भदौ । पशुपक्षी क्षेत्रसँग सम्बन्धित २० वटा कार्यालय गाभ्ने, खारेज गर्ने तथा बजेट शून्य गर्ने सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रिएका पशु चिकित्सकहरूले पशु सेवा विभागमा ताला लगाउने घोषणा गरेका छन् ।
नेपाल भेटेरिनरी एसोसिएसनका निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले आफूहरूका मागबारे सरकार उदासीन रहेको भन्दै विभागमा आज ताला लगाउन लागिएको एग्रोटाइम्सलाई बताए ।
यस्तै उनले अबको आन्दोलन माइतीघरमा मात्र सीमित नभएर प्रधानमन्त्री, कृषिमन्त्री र अर्थमन्त्रीको निवास घेराउ गर्ने गरी आन्दोलन अघि बढ्ने बताएका छन् ।
सरकारले गत जेठमा ल्याएको चालू आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने, केही प्रदेशमा हस्तान्तरण गर्दै बजेट शून्य गरेपछि सरोकारवाला आन्दोलित बनेका छन् ।









