काठमाडौँ, ७ भदौ । पशु चिकित्सकहरूले पशु सेवा विभागमा ताला लगाएका छन् । पशुपक्षी क्षेत्रसँग सम्बन्धित २० वटा कार्यालय गाभ्ने, खारेज गर्ने तथा बजेट शून्य गर्ने सरकारको निर्णयविरुद्ध संघर्षमा उत्रिएका उनीहरूले आज विभागमा तालाबन्दी गरेका हुन् ।
नेपाल भेटेरिनरी एसोसिएसनका निवर्तमान अध्यक्ष डा. शीतलकाजी श्रेष्ठले आफूहरूका मागबारे सरकार उदासीन रहेको भन्दै विभागमा आज ताला लगाइएको बताए ।
सरकारले गत जेठमा ल्याएको चालू आर्थिक वर्षको बजेटमा पशु सेवा विभागअन्तर्गतका २० कार्यालयमध्ये केहीलाई खारेज गर्ने, केही गाभ्ने, केही प्रदेशमा हस्तान्तरण गर्दै बजेट शून्य गरेपछि उनीहरू आन्दोलित बनेका छन् ।









