एग्रोटाइम्स, कञ्चनपुर, ७ भदौ । कञ्चनपुरमा धान खेतीमा सिथ ब्लाइट (गवारो) रोगको प्रकोप देखिएको छ । किसानले लगाएका धान खेतीमा गवारो रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् ।
ढिलो गरी रोपाइँ गरेर हुर्कँदै गरेका धानका विरुवाको पात पहेंलो हुनुका साथै धानका गुभो सिथ ब्लाइटको प्रकोपले मर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।
कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं ३ बस्ने नरेन्द्र चौधरीले आफ्नो धान खेतीमा गवारो कीराको प्रकोपले धानका बोटहरू नष्ट भएको बताए ।
यस वर्ष अन्य वर्षभन्दा मनसुन ढिलो गरी सक्रिय भई असार अन्तिम सातादेखि अत्यधिक पानी परेको थियो । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको अत्यधिक पानीले अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि गवारो कीराले धानको गूभो काटेर क्षति गर्ने गरेको उक्त जिल्लाको भीमदत्त नगरपालिका–१८ का किसान भागरती थापाले बताइन् ।
किसानको बारीमा अहिलेको धानमा गवारो तथा सेतो गवारो, खैरो फट्के किरा, युरिया र पोटासको कमीका कारणले विभिन्न किसिमका गवारो किराले धानमा आक्रमण गरेर धानको गुभो पहेँलो भएर धानमा दाना नलाग्ने समस्या देखिएको कञ्चनपुरको कृषि ज्ञान केन्द्रले जनाएको छ ।









