हेटौँडा, ८ भदौ । मकवानपुरगढीमा उत्पादित कालीखोला कोदोको पिठो बजारीकरणका लागि रैथाने हाटबजार काठमाडौँमा उपलब्ध हुने भएको छ ।
कालीखोला कोदोसँगै मकवानपुरगढीमा उत्पादित स्थानीय एवं रैथाने बालीहरू र बाँसबाट निर्मित हस्तसामग्रीहरू (बाँसको डस्टविन, क्रेट, फाइल ट्रे) समेत काठमाडौँमा ल्याइन लागिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
स्थानीय उत्पादनको प्रवर्द्धन गराउनका लागि काठमाडौँको दरबारमार्गमा लागेको हाटबजारमा शनिबार कालीखोला कोदोको पिठो उपलब्ध हुने भएको छ ।
नेपाली रैथाने कृषि उपजको प्रवर्द्धनका लागि काठमाडौँको दरबारमार्गमा हाटबजार लागेको छ । रैथाने एग्री प्रडक्टस् नेपालले ५० भन्दा बढी जिल्लाका किसानलाई हाटबजारमा सहभागी गराएको छ ।
गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन, प्रशोधन र बिक्री वितरणमा स्थानीय किसानलाई प्रोत्साहन गर्ने रणनीतिसहित काम गर्दै आएको छ ।
कालीखोला कोदो उत्पादनमा प्रख्यात रहेकाले कालीखोलाकै नाममा कोदो दाना र पिठो ब्रान्डिङ भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरिएको छ ।









