काठमाडौँ, ८ भदौ । नेपालमा पशुचौपायामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । रोगका कारण आजित देशैभरका किसान आफ्नै रकमबाट पशु बचाउन खोप लगाइरहेका छन् । तर, उपचार भने महँगो भएको उनीहरूलाई थाहा नै छैन ।
भारतमा ४ देखि १० रुपैयाँमै लम्पी स्किनविरुद्धको खोप उपलब्ध छ । तर नेपालमा भने किसानले प्रतिडोजकै ५ सय रुपैयाँ तिर्न विवश छन् ।
कञ्चनपरको शुक्लाफाँटाका मनिस भट्टले घरमा पालेको गाईमा लम्पी स्किन रोगको संक्रमण देखिपछि खोप लगाउँदा प्रतिडोज खोपको ५ सय रुपैयाँ तिरेको बताएका छन् ।
पशु सेवा विभागका अनुसार नेपालले १३ लाख ६९ हजार डोज खोप आयात गरेको छ । त्यसमध्ये ६ लाख ८६ हजार ४५० डोज खोप पशुमा लगाइसकिएको छ ।
नेपालमा कम्तीमा १ सय २० रुपैयाँदेखि अधिकतम् १ सय ६० रुपैयाँसम्म प्रतिडोजमा नेपालमा खोप आयात भइरहेको विभागका चिकित्सक बताउँछन् । तर, किसानले भने ५ सय रुपैयाँसम्म प्रतिडोज खर्चिनु परेको छ ।









