चर्चित

खुमल ४ जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा परेका हुन् ।

बागलुङको बडिगाड गाउँपालिकाले गत आर्थिक वर्षमा अनुदानमा वितरण गरेको खुमल ४ जातको धानको बीउ लगाएका किसान अहिले समस्यामा परेका छन् ।

बडिगाड गाउँपालिकाले रु दुई लाख २० हजार लागतमा खुमल ४ , खुमल ८, खुमल १० र पोख्रेली जेठोबुढोको जातको चार हजार एक सय केजीको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको थियो । तर, खुमल ४ जातको धानको बीउ लगाएका किसानको खेतमा धानको गाँज मर्न थालेको छ ।

बडिगाडको खौलारा, खाल र खर्बाङ आसपासका क्षेत्रको झण्डै ३० हेक्टर धानको खेतमा लगाइएको खुमलचार जातको धानमा जरा कुहिने समस्या देखिएपछि किसान निराश भएका छन् ।

पालिकाले अनुदानमा दिएको बीउका कारण अहिले खेतमा धान मरिरहेको बताउँदै बडिगाडका गाउँपालिका-५ ग्वालिचौरका सीता आचार्यले पालिकाले यसको क्षतिपूर्ति दिनुपर्ने माग गरिन् ।

बडिगाडका स्थानीय किसान लक्ष्मण विक र सीता आचार्य लगाएको धानखेतमा जरा कुहिने रोगको प्रकोपले धान उत्पादन घट्ने देखिएको हो ।

गाउँपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको चार प्रकारका धानको बीउ अनुदान दिए पनि खुमल ४ जातको धानमा समस्या देखिएको बडिगाड गाउँपालिकाका कृषि शाखा प्रमुख ईश्वर ओलीले जानकारी दिए ।

‘ल्याव परीक्षण गरेका बीउमात्रै खरिद बिक्री वितरण गर्ने गरिन्छ, अन्त सफल भइसकेको खुमल ४ जातको धानको बीउ यहाँ सफल भएन’,  उनले भने, ‘पालिकाले परीक्षणका लागि थोरै मात्रमा बीउ वितरण गर्न थालेको थियो, पछि किसानको माग खुमल ४ मै बढी भयो, पालिकाले पुनः खुमलचारको बीउ खरिद गरेर अनुदानमा वितरण गरेको थियो ।’

यो क्षेत्रमा खुमल ४ राम्रो हुन्छ भनेर सरकारले वर्गीकरण गरेको भूगोलमै पर्ने भन्दै उनले हिले खमुलचार धान रोपेका किसानको घरघरमा पुग्ने तथा विषादी वितरण गर्ने गरेको पनि उनको भनाइ छ ।

धानको जरा कुहिने समस्या चार वर्ष पहिले पनि गलकोटमा देखिएको बताउँदै पालिकाले वितरण गरेको अन्य धानको बीउ भने राम्रो भएको उनको भनाइ छ । एक हजार आठ सय खुमल ४ को धानको बीउमध्ये एक हजार तीन सय खुमलचारको धानको बीउ प्रयोगमा आएको ओलीको भनाइ छ ।

खुमलचारको बीउमा जरा कुहिने समस्या आएपछि उक्त खुमल ४ जातको धानको बीउ लगाउने किसानको उत्पादनमा ५० देखि ७० प्रतिशत धानको उत्पादन घट्ने अनुमान गरिएको उनको भनाइ छ ।

पालिकाले प्रदान गरेको खुमल ४ जातको धान मात्रै ३० हेक्टरमा रोपिएको बताउँदै किसानले समेत आफैँ खुमल ४ जातको बीउसमेत लगाउँदै आएको बताए । समस्या आएपछि पालिकाले विभिन्न स्थानमा लगाइएको खुमल ४ जातको धानको अनुगमन गरेको र किसानलाई विषादी उपलब्ध गराएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

किसानको गुनासो आइसकेपछि रु एक लाख लागतमा विषादी खरिद गरी वितरण गरिरहेको बताउँदै अध्यक्ष अधिकारीले किसानको समस्याप्रति पालिका गम्भीर भएको बताए । पालिकाले वितरण गरेको विषादीले हुनसक्ने नोक्सानीलाई घटाउने उनको विश्वास छ ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय