चर्चित

बागलुङ, १० भदौ । बागलुङमा लम्पी स्किन रोगको सङ्क्रमणबाट झन्डै तीन करोड रुपैयाँ भन्दा बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म ६ सय १७ पशु मरेको बताइएको छ ।

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो ।

केन्द्रले सङ्कलन गरेको तथ्याङ्कअनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए ।

उनका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी बेहोरेको बताए । उनले एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिए ।

बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको सापकोटाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय