
काठमाडौं, १० भदौ । भारतले शुक्रबारबाट लागू हुने गरी उसिना चामलमा २० प्रतिशत कर लगाएको छ । भारतको सेन्टरल बोर्ड अफ इन्डाइरेक्ट टयाक्स एण्ड कष्टमले शुक्रबार यस्तो निर्णय गरेको हो ।
आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले कर लगाएको हो । योसँगै भारतले अब सबै प्रकारका गैरबासमती चामलमा प्रतिबन्ध लगाएको छ । त्यो भारतको कूल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।
भारतको यस्तो निर्णयले नेपाली बजारमा पनि असर गर्न सक्ने अनुमान गरिएको छ ।
स्थानीय बजारमा चामलको मूल्य उकालो लागेपछि भारतले यस्तो निर्णय गरेको रोयटर्सले जनाएको छ । भारत यस्तो प्रकारको चामल निर्यातमा पनि अग्रणी मुलुक मानिन्छ ।
नेपालमा अहिले जिरा मसिनो उसिना चामको मूल्य प्रतिकिलो ७८ र लङग्रेनमा १४७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । भारतको यस्तो निर्णयको असर अब नेपाली बजारमा पनि देखिने अनुमान गरिएको छ । यसअघि भारतले गत महिना बास्मती चामल निर्यातमा रोक लगाएको थियो ।