
काठमाडौं, ११ भदौ । अफगानिस्तानका पछिल्लो दुई पुस्ता नागरिकहरूले केवल जमिन तथा नदीहरू कसरी परिवर्तन भए भन्ने मात्र देखेका छन् । मध्य अफगानिस्तानबाट बग्ने नदीको पानी यसअघि अगष्टसम्म बग्ने गरेकोमा अहिले मार्चबाटै सुक्ने गरेको छ । यसअघि दशकमा एकपटक मात्र खडेरी पर्ने गरेकोमा अहिले हरेक दुई वर्षमा खडेरी पर्ने गरेको छ ।
सुख्खा खडेरीका कारण गहुँसमेत फल्न छाडेको छ । पछिल्लो ७० वर्षमा अफगानिस्तानको तापक्रम १.८ डिग्री सेल्सियसले बढेको छ, जुन विश्वव्यापी औसतको दोब्बर हो । यहाँका मानिसहरू खाद्य अभाव, चार दशकसम्मको युद्ध, लगातार तीन सिजनसम्मको खडेरी र जलवायु परिवर्तनका कारण बिथोलिएको वर्षाको ढाँचाबाट प्रताडित छन् ।
तर, अफगानिस्तानको सत्तामा आएपछि तालिबानले पहिलो मुख्य भौतिक पूर्वाधार परियोजनाको निरीक्षण गरिरहेको छ । ११५ माइल लामो कोश तेपा नहर परियोजनाअन्तर्गत आमुदार्या नदीको २० प्रतिशत पानी डाइभर्ट गरी उत्तरी अफगानिस्तानका सुख्खा समथर भागहरूमा लैजाने योजना छ ।
अबको दुई वर्षमा उक्त नहर पूरा भएसँगै अफगानिस्तानको साढे ५ लाख सुख्खा मरुभूमि क्षेत्रमा सिंचाइ सुविधा पुग्नेछ । यसले अफगानिस्तानको कुल कृषियोग्य भूमिमा समेत एक तिहाइले वृद्धि हुनेछ र सन् १९८० पछि अफगानिस्तान पहिलो पटक खाद्यान्नमा आत्मनिर्भर बन्ने छ ।
यो नहर परियोजना जोजान प्रान्तस्थित गाउँहरूका लागि गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय रूपमा एक्लिएको अफगानिस्तानका लागि यो नहर परियोजना उसको शासकीय क्षमताको परीक्षण पनि हो । उक्त नहर परियोजनाको परिकल्पना पहिलो पटक सन् १९७० मा अफगानिस्तानका पहिलो राष्ट्रपति मोहम्मद दाउद खानको पालामा गरिएको थियो भने पूर्वराष्ट्रपति असरफ घानीको पालामा सन् २०२१ मा यसको निर्माण कार्य सुरु भएको थियो ।
सन् २०२१ को अगष्टमा सत्तामा आएसँगै तालिबानले सो परियोजनाको स्वामित्व लियो र तत्कालै यसको निर्माणका लागि १० करोड डलर बजेट विनियोजन गर्यो । सो रकम अफगानिस्तानको वाषिर्क आयकरबाट उठ्ने राजस्वको झण्डै एक चौथाइ हो ।
१०० मिटर चौडा उक्त नहर खन्नका लागि हाल ६ हजार कामदारले दिन–रात एस्काभेटर तथा हेभी ड्युटी ट्रकहरू चलाइरहेका छन् । यो नहरको चौडाइ क्यालिफोर्निया एक्वेडक्टभन्दा पनि ठूलो छ ।
तालिबान नेतृत्वले यो नहर परियोजनालाई आफ्नो छविमा सुधार ल्याउने साधनको रूपमा प्रयोग गरिरहेका छन् ।
यो कुनै पनि विदेशी सहायताविना पूर्ण रूपमा अफगानिस्तानकै आन्तरिक बजेटबाट डिजाइन तथा निर्माण भइरहेको परियोजना हो र पूर्ववर्ती सरकारले विदेशी सहयोगविना गर्न नसकेको काम तालिबानले गर्दै छ ।
यो नहर परियोजना अन्तर्राष्ट्रिय सहायताबाट नभई अफगानिस्तानको घरेलु कोइलाखानीबाट प्राप्त राजस्वको रकमबाट निर्माण हुनेछ ।
खर्च कम गर्नका लागि नहरको पिंधमा सिमेन्टले छोपिएको छैन । जसका कारण नहरका केही भागहरूमा अहिले नै पानी रसाएर आइसकेको छ । सम्भाव्यता अध्ययनले उक्त नहरमा कतिपय भागहरूबाट २२ प्रतिशत पानी चुहिएर खर्च हुने देखाएको छ ।
साथै आमुदार्या नदी जोड्ने नहरको भागको इन्टेक संयन्त्रमा बालुवा तथा ढुंगा माटोले भर्ने र त्यसको मर्मतका लागि ठूलो रकम खर्च हुने समेत देखिएको छ ।
नहरमा आमुदार्या नदीबाट कति परिमाणमा पानी निकालिन्छ भन्ने पनि अर्को प्रश्न छ । सो नदीबाट पानी डाइभर्सन गर्दा घट्ने बहावका कारण आफ्नो मुलुकको आकर्षक कपास खेतीमा असर पर्ने कुरामा उज्वेकिस्तान र तुर्कमेनिस्तानले यसअघि नै चासो व्यक्त गरिसकेका छन् ।
बढ्दो मरुभूमीकरणसँगै मध्यएशियामा पानी सबैभन्दा जल्दोबल्दो तनावको विषय बन्दै गएको छ ।
आन्तरिक द्वन्द्वबाट ग्रस्त बनेको अफगानिस्तानले लामो समयदेखि आफ्ना छिमेकी मुलुकहरूसँग सीमापार जलस्रोतका विषयमा आफ्नो दाबी पेश गर्न संघर्ष गरिरहेको छ । जबकि उसका छिमेकी मुलुकहरू इरान, उज्वेकिस्तान तथा तुर्कमेनिस्तानले आफ्नो अधिकारको हिस्सा भन्दा पनि धेरै लाभ उपभोग गरिरहेका छन् । आमुदार्या नदीको पानी बाँडफाँट सम्बन्धमा मध्यएशियाका चार वटा पूर्वसोभियत राज्यहरूले सन् १९८७ मा एक सम्झौता गरेका थिए, जसमा अफगानिस्तानलाई छुटाइएको छ ।
यदि नयाँ नहरको विषयलाई पनि राम्रोसँग व्यवस्थापन गरिएन भने यसले हेलमन्द नदीका विषयमा इरानसँग वर्षौंदेखि जारी विवाद जस्तै अर्को द्वन्द्वको सिर्जना गर्नेछ । हेलमन्द नदीको विवादका कारण अफगानी शरणार्थीमाथि इरानमा आक्रमण हुने तथा इरानी अधिकारीहरूले अफगानिस्तानमा आक्रमण गर्ने धम्की दिने लगायत घटना भइरहेका हुन्छन् । गत मे महिनामा सीमा क्षेत्रमा भएको गोली हानाहानमा दुई जना इरानी तथा एक जना अफगानी सीमा सुरक्षा बलका जवानको मृत्यु भएको थियो । इरानीहरूका लागि पानीको अधिकार अभियानअन्तर्गत इरानी राष्ट्रपति इब्राहिम रइसी सो क्षेत्रमा पुगेको वेला गोली चलेको थियो ।
हालसम्म नहरको १०० माइल निर्माण भइसकेको छ । पछिल्लो शताब्दीयता मरुभूमिमा परिणत भएको अफगानिस्तानको भित्री क्षेत्रसम्म नहर पुगिसकेको छ ।
त्यस्तै आमुदार्या जोड्ने इन्टेकको निर्माण पनि चलिरहेको छ । पहिलो ३० माइल क्षेत्रमा भूमिगत पानीले भरिसकिएको छ । साथै नहरका किनाराहरूमा बिरुवाहरू हुर्काएर परीक्षण चलिरहेको छ । त्यसपछि नहर सुकाइनेछ । निकै चर्को घाम लाग्ने त्यो क्षेत्रमा केही ससाना झाडी तथा काममा खटिएका श्रमिक बाहेक अरू कुनै पनि जीवित वस्तु देखिंदैनन् । नहर खन्ने कार्यले उडेको बालुवा तथा चट्टान निकाल्दाको धुलोले आकाश भरिएको छ ।
१०० माइल पछाडि पनि नहर जारी रहनेछ । त्यसको एक किलोमिटर अक्चा बजारसम्मै पुग्नेछ र यसका लागि सर्भेक्षकहरू आइपुगेका छन् । तर अरू गाउँलेलाई यो परियोजनाका बारेमा खासै जानकारी छैन ।