काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती १६ चालिसकिलोमा १७ वटा भैँसी र पाडा मरेका छन् । कपिलवस्तुको चनौटाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९२२७ नंको ट्रक मंगलबार बिहान सवा ६ बजे दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार भैँसी र पाडा लोड गरी ल्याएको ट्रक पल्टिएको हो । ट्रकमा ३६ वटा भैँसी र पाडामध्ये १७ वटा मरेका हुन् । १९ वटा भैँसी र पाडा भने जीवितै छन् । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।









