चर्चित

मङ्गलबारे (इलाम), १३ भदौ । इलाममा चिया र अलैँचीको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि अनुसन्धान केन्द्र स्थापना हुने भएको हो ।

राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत इलाम नगरपालिका–१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको छ ।

यसका लागि कार्यालयको भवन निर्माणका लागि चालु आर्थिक वर्षका लागि रु दुई करोड ३८ लाख बजेट विनियोजन भइसकेको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिए । अब भौतिक निर्माणका कार्यसम्पन्न भएसँगै यहाँबाट काम सुरु हुने बताइएको छ ।

अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ ।
अनुसन्धान केन्द्रका लागि अब थप ५२ रोपनी जग्गा आवश्यक्ता परेको छ । जग्गादाताले अनुसन्धान केन्द्रका लागि सो जमिनसमेत उपलब्ध गराउने कार्य भइरहेको छ ।

आउने कात्तिक महिनासम्मको थप जग्गासमेत केन्द्रको नाममा आइसक्ने बताइएको छ । त्यसका लागि इलाम नगरपालिका–१ ले पहल गरिरहेको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिए ।

विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा भर्खरै मात्र सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । करिब एक सय ६० वर्षपछि भए पनि यो केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा नयाँ उत्साह थपिएको छ ।

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताउनुभयो । उहाँले चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न सो केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने बताए ।
यहाँ सामान्य चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागत शैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर स्थापना गर्न लागिएको केन्द्रले चिया र अलैँचीमा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने किसानको भनाइ छ ।

अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा लिइएको छ । यसले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ । साथै अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय