धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ । सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन् ।
लम्साल भन्छन्, “यो कागती मलाई लकडाउनले दिएको उपहार हो ।” अहिले उनको साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । विसं २०७६ मा कोरोना भाइरसको महामारीले देश ठप्प बन्यो । व्यापार–व्यवसाय सुनसान भए । कोरोनाले कोही कतै हिँड्डुल गर्ने अवस्था रहेन । त्यही फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा लगाएको कागतीले उत्पादन दिन थालेपछि लम्साल अहिले दङ्ग छन् । तीन रोपनी बारीमा सुन कागतीको तीन सय बोट छ । एउटै बोटमा २० किलोसम्म कागती फलेको छ । उनले भने, “लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।”
बाह्रैमास फल्ने कागतीको कतै चिचिला लाग्दैछ कतै पाक्दै छ । दैनिक ४० किलो कागती बिक्री भइरहेको छ । धादिङबेँसीका कतिपय तरकारी व्यापारी कागती लिन बारीमै पुग्छन् ।
बर्खाले गर्दा मुख्य पेसा सुस्ताए पनि लकडाउनको समय सदुपयोग गरेर रोपेको कागतीले दैनिक चार हजारसम्म आम्दानी दिइरहेको छ ।
बजारमा कागतीको मूल्य प्रतिकिलो रु दुई सयभन्दा बढी रहेको छ । रासस









