
काठमाडौँ, २२ भदौ । निजामती सेवा दिवसका अवसरमा कृषि तथा पशुपन्छी क्षेत्रका २ जना कर्मचारी पुरस्कृत हुन लागेका छन् ।
मन्त्रिपरिषद् बैठकले निजामती सेवा दिवसका अवसरमा भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, त्रिपुरेश्वरका पशु चिकित्सक शशिधर सेढाईँ र खाद्य सुरक्षा तथा पोषण सुरक्षा सुधार आयोजना सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ बागवानी विकास अधिकृत राजेशकुमार केसीलाई सम्मान गर्न लागिएको हो ।
उत्कृष्ट निजामती सेवा पुरस्कारका लागि १० जना कर्मचारी छनोट हुँदा कृषि तथा पशुपन्छी क्षेत्रका एक जना पनि परेका छैनन् ।
सरकारले आज १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४० जना कर्मचारीलाई पुरस्कार दिन लागेकाे हाे ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको थियाे ।
हाल नेपालमा करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसका अवसरमा आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।