चितवन । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने समस्याको समाधान, विषादीको प्रयोग र बजार मूल्यको जानकारी एप्समार्फत लिने गरेका हुन् ।
कालिका नगरपालिका–५ का दिपक महतो बालीमा समस्या देखा पर्दा परामर्श लिन निकै सकस हुने गरेकामा यतिखेर भने एप्सका कारण समस्या नभएको बताउँछन् । उनले घरमै बसेर मोबाइलबाट नै परामर्श लिन थालेका छन् ।
“उत्पादित वस्तुको फोटो खिचेर जिओ कृषि एपमा राख्दिन्छौँ, मूल्य र परिमाण पनि त्यसैमा हुन्छ”, खुसी हुँदै महतोले भने, “त्यहाँबाट विषादी कुन हाल्ने, के समस्या देखियो भन्ने सुझाव आउँछ ।” उनले बजार मूल्य पनि त्यही एपमार्फत हेर्ने गर्छन् । मूल्य पाउना साथ एपमार्फत बिक्री गर्दै आएको उनले सुनाए ।
“मोबाइलमा एपबाट मूल्य हेर्न पाउने हुँदा विचौलियाले खान पाएका छैनन्”, उनले भने, “बाख्रालाई समस्या पर्दासमेत मोबाइलबाट नै परामर्श लिने गरेको छु ।” उनका पाँच बाख्रा छन् । विगतमा उनलाई कृषि प्राविधिकसँग भेट्न दिनभरको समय खर्च गर्नु पर्दथ्यो । आजभोलि कृषि प्राविधिकको आवश्यकता नपरेको उनले बताए ।
पदमपुरको दिप सामाजिक उद्यम महिला सहकारी कृषकले उत्पादन गरेको तरकारी बिक्री नभएर कुहिने गरेको थियो । अहिले त्यस्तो समस्या छैन । समूहमा आबद्ध तीन सय ५८ महिलाले फलाएको तरकारी तथा फलफूल ‘जिओ कृषि’ नामक मोबाइल एपमार्फत प्रदर्शन गरेर बिक्री गरिरहेको संस्थाकी अध्यक्ष खिमा चौधारीले बताए ।
सहकारी संस्थाले महिलालाई मोबाइल एप चलाउनका लागि १५ दिनको प्रशिक्षण दिएको थियो । अहिले कृषिसम्बन्धी एप खोजेर मोबाइलमा ‘इन्स्टल’ गर्छन् । उनीहरुले घरबाट नै कृषिसम्बन्धी परामर्श लिन थालेका छन् । मौसम, बीउबिजन, मल खाद, सिँचाइ, बिरुवा उत्पादनलगायत विषयमा जानकारी लिन एप उपयोगी हुने गरेको उनले बताए ।
सहकारी संस्थामा डिजिटल टिभीसमेत जडान गरिएको छ । त्यहाँ ई चौतारी कार्यक्रम सञ्चालन गरिने संस्थाकी व्यवस्थापक रिना चौधरी बताउँछन् ।
उद्यमशिलतामा जोडिनका लागि सो नगरपालिकाका सबै वडाका उद्यमीलाई मोबाइल एप जडान गर्ने प्रयासमा रहेको नगरप्रमुख विनोद रेग्मीले बताए । “वडा नं ६ र ५ मा डिजिटल स्क्रिनमार्फत कृषिसम्बन्धी जानकारी दिने र उपचारका विषयमा जानकारी दिने गरेका छौँ”, उनले भने, “११ वटै वडामा एपको व्यवस्थापन गर्ने प्रयासरत छौँ ।” उनले एपमार्फत महिला उद्यमीलाई जोड्ने योजना रहेको बताए । डिजिटल प्रविधिमा जाँदा समयको बचतका साथै ठगिने सम्भावना कम हुने उनको भनाइ छ ।









