अशिम सापकोटा –
पढाइ सकेर धेरैजसोले केही नयाँ काम गर्न चाहन्छन्, कोही विभिन्न देशहरुका सम्भावना खोज्छन् त कोही जागिर । यस्तै जमातमध्ये कमैले मात्र रोज्ने गरेका छन् कृषि अन्तर्गतको उत्पादनमुलक कर्म । यसे मध्येमा आफ्नो जन्मथलो फर्किएर अनि कृषि र पशुपालनमा व्यवसायिक रुपमै लागेका तनहुँको भानु नगरपालिका–१२ घलेछापका ३२ वर्षीय कुशलचन्द्र अधिकारी गाउँ फकेँर कृषिमा जम्दै गरेको यथार्थ अल्लि फरक नै छ । गाउँ छोडेपछि जग्गाजमिन पनि बाँझो भएको समयमा यसरी कृषि र पशुपालनमा व्यवसाय सूरु हुन थालेपछि सहि सदुपयोग भएको छ ।
उनले सुरुवातमा बाख्रापालन गरे, अहिले उनको घरगाउँ घलेछापमै भएको कृषि फर्ममा मौरी, कुखुरा, कडकनाथ (कालो कुखुरा) र गाईभैंसी पनि थपिएका छन् । घरपरिवारसँगै काम गरेर आम्दानी लिनुपर्छ भन्ने उद्धेश्यले काठमाडौँको पढाइ सकिनासाथ उनी गाँउ फर्किएर यसरी व्यवसाय गरेका हुन् । अधिकारीले जागिर गर्नु तथा अन्य व्यवसाय गर्नुभन्दा कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेपछि २२ वर्षदेखि बाँझो रहेको जमिनको उपयोग गर्दै यसरी कृषि उत्पादन र पशुपालन व्यवसायका सम्भावनालाई दर्शाएका छन् ।

समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएका कुशलले मिर्लुङ बहुउद्देश्यीय कृषि फर्मको नाममा यसरी काम गर्दै अन्यहरुलाई समेत प्रेरित गरिरहेका छन् । बाँझो जमिनमा घाँस लगाएर व्यवसाय वृद्धि तथा विकास गर्दै ल्याइरहेका छन् । खोर र गोठले करिब ६ रोपनी जग्गा ओगटेको छ भने बाँकीमा भैँसी, गाई र बाख्राका लागि प्रोटिनयुक्त घाँस लगाइएको छ । ३० वर्ष वैदेशिक रोजगारीको शिलशिलामा बहराइन बसेका कुशलका बुवा राजेन्द्रको प्रेरणाले समेत कुशललाई स्वदेशमै सम्भावना खोज्न अग्रसर बनाएको थियो ।

कुशलले पढाइ सँगसँगै काठमाडौँमा आफ्नै ‘ट्राभल्स एण्ड टुर्स’ व्यवसाय गरेका थिए, व्यवसाय राम्रै नाफामा चलेको भएपनि उनलाई उत्पादनमुलक क्षेत्रमा काम गर्नुपर्छ भनी कृषि र पशुपालनमा यसरी जोडिएका थिए कुशल । बाख्रा नोक्सानी भएमा भैँसीबाट पूर्ति गर्न सकिन्छ, एकथरिमा नोक्सान भएमा अर्को व्यवसायबाट पूर्ति र आम्दानी लिइरहन सकिन्छ भन्दै कुशलले आफ्नो अनुभव हामीलाई बताइरहेका थिए । आफैँले गाईभैँसीबाट उत्पादित दूध बिक्रीका लागि बजारसम्म पु¥याउने गरेका छन् । दैनिक ७५ लिटर दूध उत्पादन गर्दै आएको र ३० लिटर बिक्री गरिन्छ भने बाँकी दूधबाट पनिर बनाएर बिक्री गर्ने गरेका छन् ।
दूधको बजार नपाउँदा घ्यू, नौनी बनाएर बिक्री गर्ने गरेका छन् उनले । पनिर बनाउन थालेपछि स्थानीय बजारमा खपत भईरहेको छ । कुशलले बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमार्फत १० दिनको तालिम लिएर बाख्राको हेरचाह र दानापानीबारे तालिम समेत लिएका थिए । धेरै ठाउँबाट खसीबाख्राको माग बढेपछि काम गर्न र उत्पादनमा जाँगर चल्ने गरेको कुरा समेत हामीलाई साटे ।

अधिकारीलाई कृषि तथा पशुपालनतर्फ युवा प्रतिभा सम्मान
युवा तथा खेलकुद मन्त्रालयले कृषि तथा पशुपालनतर्फ कुशलचन्द्र अधिकारीलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ । एक कार्यक्रमका बीच युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सम्मान प्रदान गरेका हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका अधिकारी घलेछाप तनहुँमा मिर्लुङ बहुउद्देश्यीय कृषि फर्म सञ्चालन गरिरहेका छन् । उनी कृषि तथा पशुपालनको माध्यमबाट युवाको क्षेत्रमा योगदान पु¥याएबापत पुरस्कारका लागि छनौट भएका थिए ।

प्रदेश उत्कृष्ट कृषि पुरस्कार
तनहुँका व्यावसायिक पशुपालक कृषकले ‘प्रदेश उत्कृष्ट कृषि पुरस्कार’ प्राप्त गरेका छन् । कुशलले गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयमार्फत् उत्कृष्ट कृषि पुरस्कार प्राप्त गर्नुभएको हो । उक्त पुरस्कारको राशि रु ३० हजार रहेको थियो । धान दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री महेन्द्रध्वज जिसीले उक्त पुरस्कार प्रदान गरेका थिए । कृषि तथा पशुपालनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो । बिगतमा पर्यटन व्यवसायमा लागेका अधिकारी त्यो व्यवसाय छाडेर कृषि अन्तर्गतका उत्पादनमुलक क्षेत्रमा लाग्न गाउँ फर्किएर निरन्तर लागिरहेका छन् ।










