
नेपालले बासमती धान नेपालको हो भनी दाबी गरेको विषयमा आफ्नो प्रमाण युरोपेली सङ्घ (ईयू)लाई पठाएको छ । भारत र पाकिस्तानले बासमती धान आफ्नो देशको हो भन्दै आधिकारिकताका लागि ईयूमा दाबी पेस गरेपछि नेपालले पनि सो धान आफ्नो देशको हो भनी डिसेम्बर ९ मा दाबीसहितको पत्र दर्ता गराएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले केही दिन अघि नेपालको प्रमाण ईयूलाई पठाएको हो । बासमती धानका लागि तीन देशबाट दाबी आएपछि ईयूले तीनवटै देशलाई फेब्रुअरीको पहिलो हप्ताभित्र आआफ्नो प्रमाण पेस गर्न भनेको थियो । त्यसअनुसार नेपालले प्रमाण जुुटाएर पठाएको हो ।
नेपालले १३ बुँदामा आफ्नो दाबी प्रस्तुुत गरेको छ । ती १३ बुँदे दाबीलाई पुष्टि गर्न ८० वटा प्रमाण पेस गरेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) राष्ट्रिय जिन बैङ्कका वरिष्ठ वैज्ञानिक डा. बालकृष्ण जोशीले जानकारी दिनुुभयो ।वैज्ञानिक जोशीको नेतृत्वमा बासमती धानबारे अध्ययन गर्न अध्ययन समिति बनेको थियो । सो समितिले एक महिना लगाएर अध्ययन गरेर प्रमाण पेस गरेको वैज्ञानिक जोशीले बताए । सन् १९६० देखिका प्रमाणबारे हामीले अध्ययन गरेका छौँ, उहाँले भन्नुुभयो, “त्यो बेलादेखि नै बासमती धानका लागि नेपालमा अनुसन्धान भएका छन् । त्यतिबेला देखिका डकुुमेन्ट तथा गोरखापत्र अध्ययन गरेर प्रमाण जुुटाएका छौँ । ”
लुुम्बिनीमा गएर त्यहाँका किसानसँग कुराकानी गर्नुका साथै विभिन्न पुराना व्यक्तिसँग पनि कुराकानी गरिएको वैज्ञानिक जोशीले बताउनुुभयो । सांस्कृतिक, आर्थिक, समाजिक तथा साङ्गीतिक रूपमा पनि बासमतीबारे अध्ययन गरेको बताउँदै उहाँले बासमती नेपालको भन्ने पर्याप्त प्रमाण पठाएको बताए ।
भारतले पनि आफ्नो प्रतिवेदनमा बासमती धानको उत्पादन नेपालको तराईबाट भएको उल्लेख गरेको छ । त्यसले गर्दा नेपालको दाबी नै पुष्टि हुने वैज्ञानिक जोशीले बताए ।
भारतका पनि विभिन्न स्रोत तथा प्रमाण आफूूहरूले अध्ययन गरेका आधारमा बासमती धानको उत्पत्ति नेपाल रहेको कुरा पुष्टि भएको समेत उनले दाबी गरे ।
बासमती धानका चारवटा जात राजपत्रमा नै प्रकाशित भएका छन् भने अन्तर्राष्ट्रिय जिन बैङ्कमा नेपालमा ६४ वटा बासमती धानका जात रहेका छन् । तिनलाई १०–१५ वटा देशले प्रयोगमा ल्याइरहेका छन् । नेपालको जिन बैङ्कमा बासमती धानका विभिन्न २६ वटा जात रहेका छन् । त्यसले जातका हिसाबले पनि अरू देशको तुलनामा धनी रहेको बताए ।
नार्कका कार्यकारी निर्देशक डा. दीपक भण्डारीले बासमती नामको चामल नेपालकै हो भनी यथेष्ट प्रमाण आफूूहरूसँग रहेको दाबी गरे । उनले भने “हामीले बासमती धान हाम्रो हो भनी पौराणिक दस्तावेज, भिडियो, फोटो, गीतलगायतका सामग्री प्रमाणका रूपमा पठाएका छौँ, जुन प्रमाणका रूपमा पर्याप्त छ । ”
कस्तो छ दाबी ?
नेपालले सुरुमा बासमती धान नेपालको मौलिक धान हो भनी १३ बुँदे दाबी गरेको थियो । त्यसमा बासमती धानको विषयमा नेपालमा सन् १९६० मा र त्यसअघि पनि अध्ययन भएको प्रमाण प्रस्तुत गरिएको छ । बासमतीको शाब्दिक अर्थ बास्ना दिने धान अथवा चामल भएकाले यसलाई बासमती धान भनिएको नार्कले जनाएको छ ।
नेपालमा विभिन्न थरीका बास्ना आउने धान र चामलका रैथाने जात पाइन्छन् त्यसमध्ये एउटा बासमती हो । बासमती धानका विभिन्न चार प्रकार नेपाल सरकारको राजपत्रमै प्रकाशित भएको छ । नेपालका विभिन्न स्थानबाट सन् १९७० देखि सङ्कलन गरिएका ४७ प्रकारका रैथाने बासमती धानका जात नार्कले अन्तर्राष्ट्रिय जिन बैङ्कमा पनि राखेका छन् । नार्कको राष्ट्रिय जिन बैङ्कले करिब २४ प्रकारका रैथाने बासमती धानका जात वर्षौंदेखि नेपालको विभिन्न क्षेत्रबाट सङ्कलन गरी सुरक्षित राखिएको छ ।
नेपालको सांस्कृतिक तथा आर्थिक पक्षसँग बासमती धानको सम्बन्ध रहेको छ । त्यसबारे विभिन्न गीत रहेको र ती चाडपर्वमा प्रयोग हुँदै आएका छन् । नेपालमा पाइने बासमती धान फरकफरक स्वादका रहेको, तराईको बासमतीको स्वाद र पोखरामा फलेको जेठोबूढो बासमती धानको स्वाद फरकफरक पाइएको छ ।
नेपालको लोकल बासमती धानका विभिन्न जातलाई नार्कले मर्फोलोजी, डीएनए तथा आइसोजाइम टुल्सको सहयोगमा चरित्र चित्रणसमेत गरिसकेको छ । यो धानको उत्पत्ति केन्द्र तराई मधेस क्षेत्र नै मुख्य हो । यो कुरा नेपालको दस्तावेजमा मात्र होइन, भारतलगायत विभिन्न देशको दस्तावेजमा पनि पाइन्छ ।
बासमती धान र यसको जातबारे विभिन्न पुस्तक, पत्रपत्रिका, जर्नल, बुकलेटमा उल्लेख गरिएको छ, जुन अन्तराष्ट्रिय रूपमा पाइन्छ । सामुदायिक बीउ बैङ्कले बासमती धान र चामललाई नेपालका विभिन्न ठाउँमा प्रवद्र्धन गरेका छन् । नेपालका विभिन्न कम्पनीले बासमती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि बिक्री–वितरण गर्दै आएका छन् ।
यी दाबीका ८० वटा प्रमाण नेपालले पठाएको छ । सबै देशको प्रणाम प्राप्त गरिसकेपछि ईयूले जाँचबुँझ गरी दुुई महिनापछि परिणाम दिने डा. जोशीले बताए ।