कृषि गणना २०७८ का अनुसार नेपालमा कुल ६२ प्रतिशत घरपरिवार कृषिमा संलग्न छन् । जसमध्ये ३२.४ प्रतिशत कृषक घरपरिवारको मुली महिला रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालको कृषि जनसंख्यामध्ये ३४.४ प्रतिशत महिलाको स्वामित्वमा कृषियोग्य जगा देखिएको छ। राष्ट्रिय कृषि गणना २०७८ को आधारमा राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको नतिजामा यस्तो तथ्याङ्क देखिएको हो । कार्यालयले कृषि जमिनको स्वामित्वमा रहेको असमानताको अनुगमन गर्न पहिलो पटक यससम्बन्धी विवरण संकलन गरेको बताएको छ ।
नेपालका ३४ दशमलब ४ प्रतिशत महिलाले कृषि जमिनको स्वामित्व पाएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ३४ दशमलब ४ प्रतिशत महिलासँग कृषि जमिनको स्वामित्व छ । संयुक्त राष्ट्रसंघको दिगो विकास (एसडीजी)का १७ वटा लक्ष्यमध्ये पाँचौँ लक्ष्य लैङ्गिक समानता र महिला सशक्तिकरणसँग सम्बन्धित छ । सोही लक्ष्यको १ नम्बरको ‘ए’ मा कानुन बमोजिम महिलालाई आर्थिक स्रोतसाधनमा समान अधिकारका साथै भूमि तथा अन्य प्रकारका सम्पत्ति, वित्तीय सेवा, सम्पदा र प्राकृतिक स्रोतहरूमा स्वामित्व र नियन्त्रणमा पहुँच प्रदान गर्नुपर्ने उल्लेख छ । सोही लक्ष्यलाई पूरा गर्न कृषि जग्गामा महिलाको स्वामित्वको अध्ययन गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक बद्री कुमार कार्कीले बताए ।

कार्यालयका अनुसार नेपालमा १८ वर्षमाथिका उमेर समूहका कृषि जग्गाको आधिकारिक कागजात भएको संख्या ४१ लाख ५४ हजार ३ सय ४३ छ । यसमध्ये कृषि जग्गाको स्वामित्व भएका महिला १४ लाख ३० हजार ७ सय १९ छ भने २७ लाख २३ हजार ६ सय २५ पुरुषको संख्या छ ।
नेपालमा १८ वर्ष माथि उमेर समूहका कृषि कर्म गर्ने संख्या १ करोड ३२ लाख ११ हजार ३ सय ४९ संख्या छ । यसमध्ये महिलाको संख्या ६८ लाख ६३ हजार ४ सय १२ र पुरुषको संख्या ६३ लाख ४७ हजार ९ सय ३६ छ ।
कुन प्रदेशमा कति?
देशभरका कृषि जनसंख्यामा औसत ३४.४ महिलाको जनसंख्या देखिए पनि प्रदेशअनुसार फरक–फरक तथ्याङ्क छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ३८.५ र सबैभन्दा कम कर्णाली प्रदेशमा २८.७ प्रतिशत जनसंख्या छ । यस्तै, कोशी प्रदेशमा ३७.२, मधेसमा ३५.८, बागमतीमा ३१.५, लुम्बिनी ३४.४ र सुदूरपश्चिममा ३०.६ प्रतिशत महिलाको कृषि जग्गामा स्वामित्व देखिएको छ ।









