उदयपुर । विगतमा पहाडी क्षेत्रमा कतैकतै फाटफुट्ट मात्र रिठ्ठा उत्पादन हुने गरेको भए पनि केही वर्ष यता जिल्लाको पहाडी क्षेत्रमा रिठ्ठा उत्पादनमा वृद्धि हुन थालेको छ । जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुर गढी गाउँपालिका र रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी नगरपालिकाको सावा सिद्धीपुरमा व्यावसायिक रुपमा रिठ्ठाखेतीको हुँदै गएको हो । त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास अँधेरी क्षेत्रमा व्यावसायिक रिठ्ठा खेती विस्तार हुँदै गएको कृषक बताउँछन् । नगदे बालीको रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिठ्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने भएपछि उदयपुर गढीको भलायाडा, डुम्रेसहित रौतामाईको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा रिठ्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुर गढी गाउँपालिका–२ भलायडाँडाका रत्नबहादुर अधिकारीले बताए । रौतामाई–५ आँपटारका रिठ्ठा उत्पादक कृषक अम्बर राईका अनुसार विगतमा केही एकदुई बोट मात्र रिठ्ठा लगाएको भए पनि राम्रो आम्दानी हुन थालेपछि आफूले व्यावसायिक खेती गर्न थालिएको हो । रिठ्ठा उत्पादनमा वृद्धि गरेर पाँच वर्षदेखि आफूले वार्षिक दुई लाखभन्दा आम्दानी गर्न थालेको राईले जानकारी दिए । रासस









