नेपालमा भौगोलिक विविधता र राम्रो हावापानी भएको कारण मौरीपालनको भबिष्य निकै राम्रो मानिन्छ । मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पु¥याएको हुन्छ । यही मौरीलाई व्यावसायिक रूपमा पालेर पछिल्लो समय मानिसले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । यसैमध्येमा नेपालमा मौरीपालनको क्षेत्रलाई व्यवस्थित र वृहत बनाउन करीब ३ दशकदेखी निरन्तर रुपमा काम गरीरहेको माउन्टेन बी कन्सर्नको अहम भुमीका रहेको छ । माउन्टेन बी कन्सर्नको मह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित छ । यो फार्ममा उत्पादित महको माग बजारमा राम्रो छ । महसँगै मौरीको चाकाबाट स्याम्पु, साबुन र अन्य सामग्रीसमेत उत्पादन हुने गरेको छ । माउन्टेन बि कन्सर्नले मोरीपालन गर्न चाहनेहरुका लागि आवश्यक तालिम दिने, मौरीका घारहरु बनाउने, विभिन्न फरक÷फरक श्रोत अनुसारको मह प्याकेजिङ्ग गर्दै बजारमा पुर्याइरहेको छ । हामीले मौरीपालनमा निरन्तर लाग्दै यसको जागरणमा समेत लागेकी माउन्टेन बी कन्सर्नकि संचालक सरीता भट्टराई श्रेष्ठसँग मौरी संवाद गरेका छौँ ।
नेपालमा मौरीपालनको अवस्था कस्तो छ ?
अधिकांश गाउँका शैक्षिक बेरोजगार युवाहरू पैसा कमाउने चक्करमा भौँतारिइरहेको अवस्थामा मौरी पालन व्यवसाय रोजाईमा पर्न थालेका छन् । अहिले विदेशबाट फर्किएका युवाहरू पनि मौरी पालन व्यवसायतिर आकर्षित भइरहेका छन् । व्यावसायिक मौरी पालनतर्फ आकर्षित हुने किसानहरूको संख्यासँगै मौरीको घारहरूको संख्या पनि बढी रहेको छ । मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूूलो योगदान पु¥याएको हुन्छ । यही मौरीलाई व्यावसायिक रूपमा पालेर पछिल्लो समय मानिसले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् । पछिल्लो समय युवाहरूको आकर्षण अझ बढी रहेको छ, यसलाई राम्रोसँग बुझेर गर्नेहरु सफल समेत भएका छन् ।
यहाँले सम्भावना भन्दै गर्दा यो क्षेत्रमा अझै ठुलो लगानी चाँहि भित्रिएको देखिदैन नि ?
यहाँले भनेजस्तै यस क्षेत्रमा लगानी नथपिएको होइन् तर विस्तारै बढि नै रहेको छ । बजारमा महको माग धेरै छ । मौरीपालन व्यावसायमा ध्यान दिनुपर्ने बिषय भनेको मौरीको चरनकै हो । मौरीको रोग, घार स्याहार, मौरीको अवस्था र मह उत्पादनको रेखदेखमा विशेष ध्यान दिएपछि नै मौरीपालन व्यवसायबाट सफल बन्न सकिन्छ । पछिल्लो समय नेपालमा मौरी पालन व्यवसाय फस्टाएको छ । नेपालको मह विश्वमा नै उत्कृष्ट मानिन्छ, तर सरकारले अन्तराष्ट्रिय स्तरको ल्याब र निर्यातमा सहजीकरण गराउन सके नेपाली महले विश्वबजारमा अर्गानिक, प्राकृतिक र हर्वलको पहिचानका रूपमा स्थापित बन्न सक्छ । सरकारले यसको बिषयलाई गम्भिर रुपमा सोँचेर मौरीपालकलाई साथ दिँदै जाने हो भने यसमा थप लगानी आँउनेमा निश्चित छ ।
मौरीसँगै २ दशक नजिकिँदा मौरी के हो जस्तो लाग्छ यहाँलाई ?
मौरी अत्यन्तै अनुशासित, परिश्रमी र नीति पालना गर्ने कीरा हो र मौरीलाई चिन्नको लागि प्रयोगात्मक तालिम आवश्यक हुन्छ । मौरी अन्य किराहरूमध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । मौरीले परागसेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्यवस्तुको उत्पादनमा ह्रास आउँछ । विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको ग्यारेण्टि गर्न मौरीले पनि अहम भुमिका खेल्ने गर्दछन् ।
प्रसिद्ध बैज्ञानिक अल्वर्ट आईन्सटाईनका अनुसार मौरी पृथ्वीबाट लोप भएर जाने हो भने मानव समुदायको अस्तित्व पनि करिब करिब चार बर्षमै समाप्त हुन्छ । तसर्थ मौरी, मानब र प्रकृति बिच अनुपम सम्बन्ध छ । मौरी पालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मिहिनति हुने पाठ सिकाउँछ ।
सम्भावना उजाग्रत गर्दै गर्दा यस क्षेत्रका बेथिती, समस्या र चुनौतीहरु पनि बताइदिनुहुन्छ कि ?
पक्कै पनि, यसरी दिनानुदिन मौरी पालन व्यवसाय किसानको रोजार्ईमा परिरहँदा चुनौती पनि बढ्दै गएको छ । कहिलेकाँही नेपाली किसानले उत्पादन गरेको महले बजार नपाउने र ठुलो संख्यामा मह आयात हुँदा यस क्षेत्रका उद्यमी किसानहरू पछिल्लो समय समस्यामा रहेका छन् । हामीले सम्भावना मौरी पालन व्यवसायमा चुनौती पनि धेरै नै रहेका छन् । पछिल्लो समय स्थानीय तह बनेसँगै एक ठाउँको मौरी अन्यत्र चरनका लागि लैजाँदा विभिन्न बाधा अड्चन उत्पन्न भएको छ । स्थानीय तहले अनुमति माग्ने, सोही क्षेत्रका किसानले चरन नपुग्ने भन्दै अन्यत्रको मौरी ल्याउन नदिने, मौरीलाई विष राखी दिनेजस्ता समस्या देखा परेका छन् । नेपालमै मह उत्पादन हुँदा हुँदै चीन, भारतबाट मह आयात हुँदा नेपाली उत्पादकहरुलाई असर पर्ने गरेको छ । तर विस्तारै उपभोक्तालाई हाम्रो स्वदेशी ब्राण्डको मह खानुपर्ने भन्ने जनचेतना जगाईरहनुपर्छ ।
सरकारी निकायबाट मौरी पालन व्यवसायमा भनेजस्तो सहयोग छैन भन्ने सुनिन्छ नि ?
सरकारले सहयोग नै नगरेको पनि भन्न मिल्दैन । सरकारले मौरी सम्बन्धि गोष्ठी, सेमीनार, तालिम, छलफल तथा मौरीका घार अनुदानमा किसानलाई बाँडिरहेको छ यो सकारात्मक कुरा हो, तर वास्तवमा मौरीपालक किसानलाई उत्पादित मह गुणस्तरीय हो भनेर प्रमाणित गर्ने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला नेपालमा हालसम्म उपलब्ध छैन ।
निर्यातको सम्भावना कत्तिको छ ?
निर्यातको सम्भावना असाध्यै धेरै छ । हामीले पनि केही देशहरुमा पठाएका छौँ, राम्रो प्रतिक्रिया पाइरहेका छौँ । नेपालको चिउरी भन्ने जात विश्वमा कमै मात्रै छ । विदेशी बजारमा चिउरीको नेपाली मह भनेर ब्राण्डिङ गर्न सकेमा बजार राम्रो छ । यो विषयमा सरकारलाई थाहा पनि छैन । अन्तर्राष्ट्रिय ल्याबमा समेत परीक्षण गरेर विश्व बजारमा पुर्याउन सके यसबाट ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
नेपालको भौगोलिक विविधता, वातावरणीय अनुकुलता, मौसम, वनस्पति, खाद्यान्न बालीका कारण मौरीपालनको सम्भावना प्रशस्त छ । सानो लगानीले ठूलो आम्दानी लिन सकिने हुँदा यसको महत्व धेरै छ । मौरीको हेरचाह र पाल्ने तरिकाको जानकारी भएमा सानो पुँजीले मौरीपालन थालनी गर्न सकिन्छ । हामीले हजाराँैलाई प्रयोगात्मक तालिम दिएर उधमी बनाइसकेका छौँ, यहाँहरु पनि आवश्यक तालिम चाहिएका सम्पर्क गर्नुहोला ।









