
चितवनको भरतपुरमा जेठ १८ देखि शुरु भएको ‘अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी’ सम्पन्न भएको छ। नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युप्मेण्ट एशोसियशनले संयुक्त रुपमा आयोजना गरेको उक्त प्रदर्शनी्मा करिब ८ हजार भिजिटरहरुले प्रदर्शनीको अबलोकन गरेको आयोजकहरुले बताएका छन।
नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायिक परिचय दिई अन्तराष्ट्रिय स्तरमा चिनाउने र अन्य विकसित देशमा भैरहेका पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्र्याउने महत्वपूर्ण वातावरण बनाउन नेपाल पोल्ट्री महासंघले नेपालकै सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय प्रर्दशनीको आयोजना गरिएको महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले बताए ।
उक्त प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसीया, सिंगापुर, ताइवान, इटली, इजराइल, बंगलादेश लगायत १५ देशका करिब १५० भन्दा वढी स्वदेशी तथा विदेशी प्रख्यात प्रदर्शकहरुका नविनतम प्रविधिहरुको प्रदर्शनी गरिएको थियो।
नेपालको पुर्ब देखि पश्चिम सम्मका लगभग सम्पुर्ण पोल्ट्री संग सम्बन्धित ब्यबसायी तथा सरोकारवालाहरुको सहभागिता रहेको उक्त प्रदर्शनीबाट स्वदेशी देखी बिदेशी प्रदर्शकहरु समेत सन्तुष्ट रहेको पाईएको छ। भारतको अप्तिमा लाईफ साईन्सका प्रबन्धक संजिब दत्तले मेलामा ब्यबसायीहरुको सक्रिय सहभागिताले आफु उत्साहित भएको र यो प्रदर्शनीले नेपालमा आफ्नो ब्यापार ब्यबसाय प्रबर्धनमा सहयोग पुग्नेमा आफु आशाबादी रहेको बताए।
उक्त प्रदर्शनीमा ३ दिने ‘पोल्ट्री पाठशाला’ सेमिनारको पनि आयोजना गरिएको र उक्त पाठशामा तीनै दिन उत्साहजनक सहभागिता रहेको ‘पोल्ट्री पाठशाला’ का संयोजक तथा नेपाल भेटेरिनरी काउन्सिलका उपाध्यक्ष सहप्राध्यापक डा सुबिर सिंहले बताए।