फिक्कल (इलाम) । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घर खर्च टार्न अरूको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरे खेतीबाट घर खर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ । मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरे खेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु १५ लाख आम्दानी गर्दै आउनुभएको छ । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलो पटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भन्नुभयो, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।” यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो । उत्पादन अकबरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ ।
“सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सानी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुई पटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलो पटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भन्नुभयो ।
हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् । सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरे खेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो । उहाँले अकबरेका साथै गोलभेँडा, भन्टा, बन्दाकोबी, प्याज खेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ । रासस
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Agro Times
Made with ❤️ By Gorkhaly Labs









