
एसोसिएसन अफ एग्रीकल्चर टेक्नोलोजी इन्डष्ट्री नेपाल (AATI Nepal) को वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। यस अवसरमा कृषि प्रविधिको प्रवर्द्धन, उद्योग विकास, र कृषि क्षेत्रको आधुनिकीकरणका विषयमा विशेष छलफल गरिएको छ । आटी नेपालका अध्यक्ष खोजराज कटुवालले कृषि प्रविधि र उद्योग क्षेत्रको विकासका लागि खेलिरहेको भूमिकाबारे चर्चा गर्दै संस्थाको आगामी योजनाहरू प्रस्तुत गरेका थिए ।
साना किसानहरूका लागि प्रविधि हस्तान्तरण, कृषि उपकरणको पहुँच विस्तार, र सहुलियतपूर्ण ऋणको व्यवस्थाबारे सरकारले साँच्चि नै चासो दिने हो भने नेपालमा कृषि क्षेत्रमा लागेका उद्योगी र व्यवसायीबीचको यो खालको प्रयासले पक्कै पनि सफलतातर्फ लान सक्ने आधार भएको बताए ।
कार्यक्रममा कृषि प्रविधि विज्ञ, उद्योगपति, सरकारी अधिकारी, र किसान प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो । कृषि प्रविधि विज्ञ तथा वक्ताहरुले किसानलाई सहज र किफायती प्रविधि उपलब्ध गराउन आटी नेपालको योगदान अतुलनिय रहेको प्रशंसा गरेका थिए ।
ग्रामीण क्षेत्रका किसानहरूका लागि नयाँ प्रविधि परिचालन, कृषि उपकरण उत्पादन र वितरणलाई प्रोत्साहन गर्न प्राविधिक तालिम केन्द्र स्थापना र कृषिलाई व्यावसायिकरण गर्ने दीर्घकालीन योजनाको घोषणा अब बजेटबाट नै सुरु भएर कार्यान्यन पक्षलाई मजबुत बनाएर जाने हो भने साँच्चिनै हामीले खोजेको समृद्धि कृषि क्षेत्रबाट हुने कुराको निष्कर्ष समेत निकालिएको थियो ।
आटी नेपालकाअध्यक्ष खोजराज कटुवालले वार्षिक साधारण सभा अत्यन्तै सफल भएको र यो कार्यक्रमले कृषि प्रविधि र उद्योगलाई एकीकृत गर्दै किसानको आयस्तर वृद्धिमा सहयोग पुर्याउदै संस्थाले कृषिमा आधारित उद्योगको विकासमार्फत देशको समग्र आर्थिक वृद्धिमा योगदान दिने विश्वास पनि व्यक्त गरेका थिए ।