
नुवाकोट — तारकेश्वर गाउँपालिका–२ मा सानाकिसान महिला कृषि सहकारीको आयोजनामा तीन दिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ। सहकारीको वार्षिक कार्यक्रमअनुसार २०८१ चैत २९ देखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिमको उद्घाटन वडा नं २ का अध्यक्ष शिवप्रसाद पनेरुले गरेका थिए । तालिममा स्थानीय २५ जना सहभागीले नेपाल मौरीपालक महासंघ नुवाकोट शाखाका अध्यक्ष तथा आधुनिक मौरी फार्म तथा घार उद्योगका प्रोप्राइटर भीमप्रसाद अधिकारीबाट प्रशिक्षण प्राप्त गरेका थिए।
तालिम उद्घाटन सत्रमा बोल्दै प्रशिक्षक अधिकारीले आधुनिक प्रविधिबाट मौरीपालन गर्दा परम्परागत तरिकाको तुलनामा बढी लाभ लिन सकिने भन्दै यस क्षेत्रलाई मौरीपालन व्यवसायको लागि उपयुक्त ठानेर तालिमले व्यवसायिक सुरुवात गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले आवश्यक प्राविधिक सहयोग तथा मौरीजन्य सामग्री उपलब्ध गराउन सधैं तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे । उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष पनेरुले किसानको हितमा गाउँपालिकाले निरन्तर काम गरिरहेको बताउँदै मौरीपालन व्यवसाय गर्ने किसानहरूलाई आवश्यक सहयोग गर्न वडा कार्यालय सधैं तयार रहेको उल्लेख गर्दै सहभागीहरूलाई ढुक्क भएर व्यवसाय थालनी गर्न आग्रह समेत गरेका थिए ।
तालिमको समापन सत्रमा सहकारी अध्यक्ष कोपिला भट्टले अन्य स्थानका सदस्यहरूले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेको उदाहरण प्रस्तुत गर्दै यस क्षेत्रका किसानले पनि व्यवसायिक मौरीपालनबाट आम्दानी लिन सक्ने विश्वास व्यक्त गरे । साथै, सहकारीले व्यवसाय सञ्चालन र उत्पादन खरिदमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।