चर्चित

दिक्तेल, खोटाङकृषिमा रोजगारी र आत्मनिर्भरताको सम्भावना बढाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले व्यवसायिक सिपमुलक तथा कफी खेती प्रविधिसम्बन्धी आधारभूत तालिम सञ्चालन गर्न लागेको छ। नगरपालिकाले यस तालिममा सहभागी हुन चाहने कृषक, युवा, महिला तथा सरोकारवाला व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको छ। नेपालका पहाडी भूभागहरू विशेष गरी खोटाङ जिल्लालाई कफी खेतीको लागि अनुकूल मानिँदै आएको छ। यही सम्भावनालाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै खोटाङलाई कफीको हब बनाउने दीर्घकालीन लक्ष्यका साथ तालिम आयोजना गरिएको हो।

नगर प्रमुख तीर्थराज भट्टराईले तालिमलाई युवामैत्री, सीपमूलक र आत्मनिर्भरतामा आधारित बनाउने बताउँदै भने, “स्थानियस्तरमै रोजगारी सिर्जना गर्ने, कृषकको आय वृद्धि गर्ने र नगरलाई कफी उत्पादनको उदाहरणीय मोडलमा रुपान्तरण गर्ने हाम्रो दीर्घ योजना हो। यो तालिम त्यसै दिशातर्फको एक महत्वपूर्ण पाइला हो।”

यस्तै, नगर उपप्रमुख विसन राईले खोटाङको भौगोलिक तथा जलवायु विशेषता कफी खेतीका लागि अत्यन्तै उपयुक्त भएको बताउँदै भने, “खोटाङलाई कफीको हब बनाउने हाम्रो उद्देश्य हो। यसका लागि स्थानीय जनशक्तिलाई दक्ष र आत्मनिर्भर बनाउनु आवश्यक छ, र यो तालिम त्यसको आधारशिला हो।”

कृषि शाखा प्रमुख तेज प्रकाश जैशीले तालिमका प्राविधिक पक्षबारे जानकारी दिँदै भने, “कफी खेतीको सुरुआती तयारीदेखि उत्पादन, प्रशोधन र बजारीकरणसम्मका सम्पूर्ण पक्ष समेटिएको तालिम हुनेछ। कृषकलाई व्यवहारिक सीप र प्रविधिमा सशक्त बनाउने हाम्रो प्रयास हो।”

नगरपालिकाले उक्त तालिममा सहभागिता जनाउन चाहने व्यक्तिहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन अनुरोध गरेको छ। तालिमको स्थान, मिति र छनोट प्रक्रिया सम्बन्धी विवरण नगरपालिकाको सूचना पाटी तथा सामाजिक सञ्जालमार्फत सूचित गरिने जनाइएको छ।

कृषिमा नवप्रवर्तन, स्थानीय स्रोतको उपयोग, युवालाई कृषि पेशातर्फ आकर्षण र गाउँमै रोजगारी सिर्जना गर्ने जस्ता बहुआयामिक उद्देश्यलाई समेटेको यस तालिमले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ‘कफी हब’ को रुपमा परिचित गराउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय