चर्चित

अनुसन्धानसहितको प्रयासले कृषकमा थप उत्साह

चितवन, पदमपुर –
चितवन जिल्लाको रत्ननगर नगरपालिका अन्तर्गत पदमपुरमा पहिलोपटक व्यवसायिक रूपमा बेबिकर्न (Babycorn) को सफल उत्पादन सुरु भएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनको समन्वय, प्राविधिक सहयोग र युवा कृषि विद्यार्थीको अग्रसरतामा गरिएको यस नविन प्रयासले स्थानीय कृषकहरूमा नयाँ आशा र उत्साह थपेको छ।

बेबिकर्न पोषणयुक्त, विषादी रहित, तथा पकौडा, सलाद, चिल्ली लगायत विभिन्न परिकारमा प्रयोग गर्न मिल्ने बहुपयोगी तरकारी हो। छिटो उत्पादन हुने र बजारमैत्री मूल्य पाउने भएकाले यसले कृषकको आम्दानीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यस सफल उत्पादनको प्रमुख सल्लाहकारको भूमिकामा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सह–प्राध्यापक डा. माधव प्रसाद न्यौपाने छन्। नेपालमा सानो स्तरमा बेबिकर्न उत्पादनको प्रयास भइरहे पनि चितवनको पदमपुरमा गरिएको यो व्यवस्थित र व्यवसायिक प्रयास उल्लेखनीय रहेको उनले बताएका छन्। यसको सफलताले अन्य क्षेत्रका कृषकहरूलाई पनि वैकल्पिक व्यावसायिक बालीतर्फ आकर्षित गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको नेतृत्व बीएस्सी एग्रीकल्चर इन्टर्न बिवस क्षेत्रीले गरेका छन् भने, जिल्ला कृषि विकास कार्यालय चितवनकी कृषि प्रसार अधिकृत सुरुची त्रिपाठीको समन्वय र प्राविधिक सहयोगले यो कार्य सम्भव भएको हो।

प्रारम्भिक चरणमा उत्पादन भएको बेबिकर्न चितवन, नारायणगढ, भरतपुर हुँदै काठमाडौंसम्म सहज रूपमा बिक्री भइरहेको छ। पदमपुरमै हाल ७ वटा विभिन्न बेबिकर्न जातहरूको परीक्षणसमेत भइरहेको छ। चितवन क्षेत्रका लागि सबैभन्दा उपयुक्त जात छनोट गर्ने उद्देश्यले गरिएको अनुसन्धानले भविष्यमा अझ वैज्ञानिक र व्यावसायिक खेतीको मार्ग निर्देश गर्ने अपेक्षा गरिएको छ।

बेबिकर्न खेतीले परम्परागत बाली प्रणालीमा विविधता ल्याउनुका साथै कृषकलाई आर्थिक रूपमा सशक्त बनाउनेतर्फ स्पष्ट संकेत दिएको छ। पदमपुरमा सुरु गरिएको यो अभ्यासले बेबिकर्नलाई नेपालमा सम्भावनायुक्त वैकल्पिक तरकारी बालीका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण योगदान दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय