चर्चित

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाले डेंगु रोगको बढ्दो प्रकोपलाई ध्यानमा राख्दै रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारणमा सचेतनामूलक जानकारी सार्वजनिक गरेको छ। देशव्यापी रूपमा डेंगु महामारीको रूपमा फैलिरहेको सन्दर्भमा, स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार गाउँपालिकाले यो कदम चालेको हो। गाउँपालिकाले जारी गरेको सूचनामा डेंगु रोग एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने भाइरल संक्रमण भएको र यो प्रायः सफा पानीमा बस्ने उल्लेख छ। डेंगुका प्रमुख लक्षणहरूमा एक्कासी उच्च ज्वरो आउनु, टाउको तथा मांसपेशी र जोर्नीहरू दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु र खान मन नलाग्नु जस्ता समस्या देखा पर्ने बताइएको छ। यस्ता लक्षणहरू देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न पनि गाउँपालिकाले आग्रह गरेको छ।

रोकथामका उपायहरूबारे जानकारी दिँदै सूचनामा पूरा बाहुला भएको कपडा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन सुझाव दिइएको छ। त्यस्तै, घर, कार्यालय र सार्वजनिक स्थानमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न, खानेपानीको ढल चुहिएको भए तत्काल मर्मत गर्न, गमला, फूलदानी, कुलरजस्ता भाँडाहरूको पानी हप्तामा कम्तीमा एकपटक फेर्न र पानी जम्मा हुने भाँडाहरू लामखुट्टे नछिर्ने गरी छोप्न अनुरोध गरिएको छ।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने प्रमुख उपाय भएकोले व्यक्तिगत तथा सामुदायिक स्तरमा सरसफाइ र रोकथामका उपायहरू अपनाउन शिवनाथ गाउँपालिकाले सम्पूर्ण गाउँपालिकावासीमा अपिल गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय