नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को संस्थागत सुदृढीकरण तथा संरचनात्मक पुनर्संरचनाका लागि वैज्ञानिकहरूसँग प्रत्यक्ष छलफल गरिएको छ। मन्त्रिपरिषदबाट गठित उच्चस्तरीय पुनर्संरचना समितिले ललितपुरस्थित राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्रमा यो छलफल कार्यक्रम आयोजना गरेको हो।
छलफलमा सहभागी अधिकांश वैज्ञानिकहरूले नार्कलाई कृषि मन्त्रालयको मातहत राख्दै छुट्टै अनुसन्धान सचिवको व्यवस्था गरिनुपर्ने सुझाव दिएका थिए। पदपूर्ति प्रक्रिया मर्यादित बनाउने, वैज्ञानिकहरूको वृत्ति विकास सुनिश्चित गर्ने, अनुसन्धानबाट सिफारिस गरिएका जातहरू कृषकसम्म प्रभावकारी रूपमा पुर्याउने र शिक्षा, अनुसन्धान तथा प्रसारबीचको समन्वय मजबुत बनाउने आवश्यकता औंल्याइएको थियो। नार्कमा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने माग पनि प्रमुख रूपमा उठाइएको थियो।
कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद तिम्सिना, समितिका संयोजक प्रा.डा. गोविन्दराज पोखरेल, सदस्यहरू प्रा.डा. इश्वरी प्रसाद कडरिया र वरिष्ठ माटो विज्ञ तथा सेवानिवृत्त वैज्ञानिक डा. यज्ञगजाधर खड्का लगायतको उपस्थिति रहेको थियो। समितिलाई ९० दिनको कार्यावधि दिइएको छ र प्राविधिक तथा प्रदेशस्तरीय कार्यालयका कर्मचारीहरूसँग पनि क्रमशः छलफल गर्दै पुनर्संरचनाको कार्य अघि बढाइने बताइएको छ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Agro Times
Made with ❤️ By Gorkhaly Labs









