
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा पछिल्लो समय अकबरे खुर्सानी खेतीले नयाँ सम्भावनाको ढोका खोलेको छ। यहाँका किसानहरूले सयौं रोपनी जमिनमा व्यावसायिक रूपमा अकबरे खुर्सानी लगाएका छन्। पालिकाको विशेष पहल, प्राविधिक सहयोग र अनुदानको संयोजनसँगै अहिले नगरपालिकाका सबै १३ वटै वडामा अकबरे खुर्सानीको उत्साहजनक विस्तार भएको छ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कृषि कार्यक्रमअनुसार, बेलकोटगढी नगरपालिकाले अकबरे खुर्सानी खेतीका लागि ७५ प्रतिशत अनुदानमा एक लाख बाह्र हजार बिरुवा कृषक, कृषि फर्म, सहकारी तथा समूहहरूलाई वितरण गरेको थियो। पालिकाले बिरुवासँगै आवश्यक तालिम, प्राविधिक सल्लाह र समयमै सिँचाइ व्यवस्थाको पहलसमेत गरेको थियो । विशेषगरी, अकबरे खुर्सानीले अन्तर्राष्ट्रिय बजारमा समेत माग राख्ने भएकाले किसानहरूको आम्दानीमा प्रत्यक्ष प्रभाव पर्ने विश्वास लिइएको छ। अहिले लगाइएको खेती उत्पादन दिने चरणमा प्रवेश गरिसकेको छ र आगामी महिनाहरूमा ठुलो परिमाणमा उत्पादन हुने अपेक्षा गरिएको छ। यसरी उत्पादन भएको खुर्सानीको राम्रो मूल्य पाइने भएकाले किसानहरूको मनोबल उच्च बनेको छ। किसानहरूले परम्परागत खेती प्रणालीको सट्टा आधुनिक प्रविधिको प्रयोग गर्न थालेका छन्। मल्चिङ प्रविधिबाट माटोको आद्रताको संरक्षण, झारपात नियन्त्रण र उब्जनी वृद्धि गर्न सहज भएको उनीहरूको अनुभव छ। यसले खेतीलाई अझ व्यवस्थीत, दक्ष र वातावरणमैत्री बनाएको छ। बेलकोटगढी नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय उत्पादनको ब्रान्डिङ र बजार व्यवस्थापनमा समेत ध्यान दिने जनाएको छ। पालिकाको योजनाले किसानहरूलाई आत्मनिर्भरता, रोजगारी सिर्जना र गाउँमै आयआर्जनको माध्यम बन्ने मार्ग प्रशस्त गरेको छ। यसरी नुवाकोटको बेलकोटगढी भेगमा अकबरे खुर्सानीको हरियाली फैलन थालेपछि, यस क्षेत्रलाई “अकबरे खुर्सानी पकेट क्षेत्र” को रूपमा विकास गर्न सकिने सम्भावना प्रबल देखिएको छ।