चर्चित

नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरणसहित आय र रोजगार भन्ने नारासहित स्थापना भएको नर्सरी व्यवसायी संघ नेपालले यस वर्ष असारको अन्तिम साता लुम्बिनी, मधेश र कोशी प्रदेशमा फरक–फरक मितिमा निःशुल्क नर्सरी व्यवस्थापन तालिम सञ्चालन गर्ने घोषणा गरेको छ । माटो तयारीदेखि फूल बिरुवा उत्पादन र बजारिकरणसम्मका व्यवहारिक विषयमा केन्द्रित यो तालिमलाई संघले “स्थानीयस्तरमै हरियाली र रोजगारीको संवाहक का रूपमा व्याख्या गर्दै आएको छ । यही सन्दर्भमा हामीले नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनासँग नर्सरी व्यवसायको वर्तमान अवस्था, तालिमको उद्देश्य र भविष्यको योजना लगायतका विषयमा विस्तृत कुराकानी गरेका छौं ।

तीनवटा प्रदेशमा निःशुल्क नर्सरी व्यवस्थापन तालिम सञ्चालन गर्नुको मुख्य उद्देश्य के हो ?

नर्सरी व्यवसायलाई हामी अब केवल सौन्दर्यतासँग होइन, व्यावसायिकता, हरियाली र आत्मनिर्भरता सँग जोडेर हेर्दैछौं । हामी चाहन्छौं, जससँग थोरै जमिन छ, केही समय छ र केही उत्साह छ, उसले नर्सरी व्यवसायबाट गाउँमै बसेर कमाउन सकोस् । यही सोचका साथ हामीले लुम्बिनीको रुपन्देही, मधेशको सर्लाही र कोशी प्रदेशको इलाममा तालिम आयोजना गरेका हौं, ताकि तीनवटा भिन्न भौगोलिक क्षेत्रका उद्यमीहरूलाई समेट्न सकियोस् ।

सहभागीहरूले यस्तो तालिमबाट के–कस्ता व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्त गर्नेछन् त ?

तालिमहरू माटोको वैज्ञानिक तयारी, मल व्यवस्थापन, बिरुवा उत्पादनका प्रविधि, रोग तथा किराको पहिचान र जैविक रूपमा नियन्त्रण गर्ने उपाय, फूल तथा सजावटी बिरुवा व्यवस्थापन र अन्त्यमा बिक्री र बजार रणनीतिसम्मका सम्पूर्ण पक्षमा आधारित छन् । हामी चाहन्छौं सहभागीहरूले हातमै गमलामा बिरुवा रोप्दै, मल हाल्दै सिकून्। व्यवहारिक अभ्यासविना तालिम अधुरो हुन्छ भन्नेमा हामी स्पष्ट छौं ।

यस्ता तालिमहरूले दीर्घकालीन रूपमा समाजमा के प्रभाव पार्छन् ?

नर्सरी व्यवसाय स्वरोजगारको सहज तर सम्भावनायुक्त विकल्प हो । वैदेशिक रोजगारको विकल्प खोजिरहेका युवाहरूका लागि, घरमै बसेर आम्दानी गर्न चाहने महिलाहरूका लागि, र आंशिक समय प्रयोग गरेर थप आम्दानी गर्न चाहने वृद्धहरूका लागि पनि यो व्यवसाय उपयुक्त छ। यसले गाउँमै काम, आम्दानी, हरियाली र जीवनशैलीमा परिवर्तन ल्याउँछ। हामी चाहन्छौं—हरेक वस्तीमा कम्तीमा एक जना नर्सरी उद्यमी होऊन्, जसले गाउँलाई हराभरा बनाओस् र आफूलाई आत्मनिर्भर बनाओस् ।

फरक फरक ठाँउमा त्यो पनि नजिक नजिकको मितीमा तालिम संचालन गार्न कसरी सम्भाव छ त ?

अवश्य पनि, तीन ठाउँमा नजिक–नजिकको मितिमा तालिम गर्नु कुनै सामान्य काम होइन। प्रारम्भिक तयारीदेखि प्रशिक्षक व्यवस्थापन, तालिम सामग्री ढुवानी, सहभागी व्यवस्थापन, समन्वय लगायत सबै पक्षहरू अत्यन्तै संवेदनशील हुन्छन्। तर हाम्रो संघको एक विशेषता छ—देशभरि फैलिएर रहेका सक्रिय सदस्यहरूको बलियो सञ्जाल। उनीहरू नै हाम्रा आँखाका दृष्टि र हातका शक्ति हुन्। तालिम स्थल र समय निर्धारणदेखि सहभागी छनोट, प्रचारप्रसार र व्यवस्थापनसम्म उनीहरूले जिम्मेवारीपूर्वक सम्हालिदिएका छन्, । हामीले प्रशिक्षकहरूलाई तालिम सुरु हुनुअघि नै तयारी सत्रमा सहभागी गराएर एउटै ढाँचामा तालिम सञ्चालन गर्ने मोड्युल निर्माण गरेका छौँ । जसले हरेक ठाउँमा समान गुणस्तरको तालिम सुनिश्चित गरिएको छ । तयारी समय थोरै भए पनि योजनाबद्ध काम, टीम वर्क र स्थानीय समन्वयकै कारणले यस्तो सम्भव बनाएका छौँ ।

संघको दीर्घकालीन योजना के छ ?

अब हामी नर्सरी उद्यमी नक्सा बनाउने छौं, जहाँ तालिम लिएका उद्यमीहरूको प्रोफाइल, स्थान, अनुभव आदानप्रदानको सञ्जाल तयार हुनेछ । यसले उनीहरूबीच सहकार्य बढाउनेछ । हामी स्थानीय तहसँग सहकार्य गर्दै सहुलियत ऋण, बीमा र डिजिटल बजार पहुँचका कार्यक्रम ल्याउने योजनामा छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय