
रौलेश्वर, बैतडी – बर्खायाम सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्दै गएको सन्दर्भमा सुर्नया गाउँपालिका, बैतडीले जनस्वास्थ्यका विषयमा सचेत रहन सर्वसाधारणमा आग्रह गरेको छ ।
गाउँपालिकाले बाढी तथा पहिरोका कारण पानी, खाना र किटजन्य रोगहरूको जोखिम बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आह्वान गरेको हो । गाउँपालिकाका अनुसार पहिरो र बाढीले पानीका मुहानहरू पुरिने वा दूषित हुने सम्भावना रहन्छ । दूषित पानी सेवन गर्दा झाडापखाला, हैजा लगायतका रोगहरू लाग्ने जोखिम हुने हुँदा उमालेर वा क्लोरिन हालेर मात्र पानी पिउन सुझाव दिइएको छ ।
साथै, खानेकुरा सफा र ढाकेर राख्न, पहिरो सम्भावित स्थानमा आवतजावत नगर्न, र स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ । सावधानी अपनाऔँ, जोखिमबाट जोगिऔँ !