
नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको तराई क्षेत्र काजु खेतीका लागि उपयुक्त मानिन्छ, किनकि यहाँ उष्ण प्रदेशीय हावापानी पाइन्छ। भारतमा काजु खेती समुद्री तटीय क्षेत्र र उष्ण जलवायुक्त राज्यहरू केरला, गोवा, महाराष्ट्र, आन्ध्रप्रदेश, मेघालय, आसाम लगायतका ठाँउमा व्यापक रूपमा गरिन्छ। नेपाल समुद्रसँग नजोडिएको भए तापनि भारतका छत्तीसगढ, मेघालयजस्ता क्षेत्रसँग मिल्दोजुल्दो हावापानी तराई तथा भित्रि मदेश र पहाडका बेसीहरुमा पाइन्छ। त्यसैले नेपालमा पनि काजु खेतीको राम्रो सम्भावना देखिन्छ। यद्यपि, सरकारी तहमा परीक्षण खेती सुरु गर्न ढिलाइ भएको छ। अब कृषि अनुसन्धान र प्रवर्द्धनमार्फत काजु खेतीलाई वैकल्पिक आयको स्रोत बनाउँदै विस्तार गर्न ढिलो गर्नुहुन्न ।