चर्चित

नेपालको पशुपालन क्षेत्रमा समर्पण, मेहनत र लगनशीलताको उत्कृष्ट उदाहरण बन्दै आउनुभएका पशु स्वास्थ्य प्राविधिक गोविन्द तिमल्सिनालाई आर्थिक वर्ष २०८१/८२ मा काभ्रेपलाञ्चोक जिल्ला सर्वाधिक कृत्रिम गर्भाधान सेवा प्रदान गर्ने जिल्लाकै उत्कृष्ट व्यक्तित्वको रुपमा घोषणा गर्दै सम्मान गरिएको छ ।

यसरी नेपालको पशुपालन क्षेत्रमा उल्लेखनीय उपलब्धिमा अग्रणी भूमिका निर्वाह गर्नुभएका तिमल्सिनालाई दूध र मासु उत्पादन वृद्धि, नश्ल सुधार, र पशु प्रजनन सेवाको विस्तारमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको हो । रोटरी क्लब अफ पनौती द्रोण–दुर्गा स्मृति रोटरीद्वारा पशु स्वास्थ्य प्राविधिक तथा पशु प्रजनन सेवा विस्तार शीर्षकमा यो सम्मान प्रदान गरिएको हो।

एक कल, पशुपन्छीको समस्या हल भन्ने नारासहित, तिमल्सिनाले २०७३ सालमा बनेपा, काभ्रेमा रहेको प्राविधिक तथा व्यवसायिक शिक्षालयबाट भेटेरिनरी जेटिए उत्तीर्ण गर्दै सेवा यात्रा सुरु गर्नुभएको थियो।

ललितपुरको गोदावरीमा जन्मिएका उहाँ विद्यालय शिक्षादेखि नै जेहेन्दार विद्यार्थीका रूपमा निरन्तर छात्रवृति प्राप्त गर्दै अध्ययन गर्नुभयो। उहाँले पोखराबाट कृत्रिम गर्भाधान तालिम र हरिहर भवनबाट बिउबिजन तालिम लिनुभएको छ।

तिमल्सिना भन्नुहुन्छ “तरल नाइट्रोजनको सहज आपूर्ति र गुणस्तरीय  सिमेन साथै गुणस्तरीय पशु प्रजनन् तालिम बेला-बेला कृत्रिम गर्भाधानकर्तालाई पुनर्ताजगी तालिम आवश्यक छ । यसको कमी भएमा सिमेनको गुणस्तरमा असर पुग्ने र किसानदेखि पशुसम्म समस्या बढ्ने भएकाले यसको दीर्घकालीन समाधान आवश्यक छ”।

उहाँको निरन्तर सेवा र समर्पणका कारण काभ्रेपलाञ्चोक जिल्ला पशुपालन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ, जसको औपचारिक प्रशंसा यस सम्मानमार्फत गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय