चर्चित

काठमाडौं – कृषि क्षेत्रमा यान्त्रिकरण र प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०८२ आगामी मंसिर १२, १३ र १४ गते राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको छ।“कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि” भन्ने मूल नाराका साथ आयोजना हुने यस प्रदर्शनी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्।

नेपाल कृषि मेसिनरी व्यवसायी संघका अनुसार, प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, पोस्टहार्भेस्ट, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउविजनहरू प्रदर्शनमा राखिनेछन्। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्पादक र विक्रेताहरूको सहभागिता रहनेछ।
यसअघि नेपालमा पाँच पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक प्रादेशिक प्रदर्शनी र एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक सम्पन्न भइसकेको छ।

छैठौं संस्करणको यस प्रदर्शनीमा करिब १५० प्रदर्शनीकर्ताको सहभागिता रहने अनुमान गरिएको छ। करिब २० मुलुकका २०० भन्दा बढी स्टलमार्फत २,००० भन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र र प्रविधिहरू प्रदर्शनमा राखिनेछन्। संघका अनुसार, नेपाल कृषि मेसिनरी व्यवसायी संघका सदस्यहरूलाई प्रदर्शनीमा सहभागी हुन विशेष छुटको व्यवस्था पनि गरिएको छ।

प्रदर्शनीमा सहभागिताका लागि २०८२ साल भदौ ४ गते, बुधबारबाट बुकिङ खुला गरिने आयोजकले जानकारी दिएको छ। प्रदर्शनी अवलोकनका लागि कुनै शुल्क लाग्ने छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय