
शंकरनाथ उप्रेती
अध्यक्ष, राष्ट्रिय खाद्य बैंक
नेपालमा विशुद्ध खाद्य सम्बन्धित काम गर्ने पहिलो बैंकको रूपमा राष्ट्रिय खाद्य बैंकको यात्रा सुरु गरिएको थियो । करिब चार वर्षको लामो गृहकार्यपछि २०७७ सालमा यस संस्थाको स्थापना भएको थियो । कृषि उत्पादनलाई केवल खेतमै सीमित नराख्ने, बरु त्यसलाई भण्डारण, प्रशोधन र बजारसम्म पु¥याएर किसानलाई वास्तविक लाभ दिलाउने उद्धेश्यले सुरुवात गरिएको यस बैँकले भन्ने गरेको छ, हामी किसानको “आलीदेखि उपभोक्ताको थालीसम्म” आफैँले काम गर्ने गरी अगाडी बढेका छौँ । यसको अर्थ के हो भने, बैँकले बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्दै किसानले पसिना बगाएर उत्पादन गरेको उपजलाई उचित मूल्यमा बजारसम्म पु¥याउने ढोका खोल्ने प्रयास गर्दैछ । बैँकले जैविक पद्धती अबलम्बन गरी उत्पादन गर्ने, स्थानिय तथा रैथाने उपजहरुलाई उत्पादनदेखि भण्डारण, प्रशोधन, वितरण र विपणनसम्म सम्पूर्ण शृंखलामा प्रत्यक्ष संलग्नता जनाइरहेको छ ।
हाल बैँकले सर्वसाधारणको लागि आइपिओ ल्याउने तयारीमा छ । यस आईपीओमार्फत किसान, सहकारी, लगानीकर्ता र उपभोक्ता सबैलाई यो अभियानमा सहभागी हुन आमन्त्रण गर्दै गरेको प्रसंग लगायतका विषयमा एग्रो टाइम्सका काठमाडौँ प्रतिनिधिले राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष, शंकरनाथ उप्रेतीसँग संवाद गरेका छन्, प्रस्तुत छ सोही कुराकानी :
राष्ट्रिय खाद्य बैंक किन आवश्यक छ, र यसले किसान र उपभोक्तालाई कसरी लाभ पुर्याउँछ ?
सबैको लागि राष्ट्रिय खाद्य बैंक लिमिटेड अवको आवश्यकता हो किनभने नेपालमा स्वास्थ्यवर्धक, मौलिक र गुणस्तरीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन अहिले पर्याप्त संरचना छैन । हामीले किसानको उत्पादनलाई सही मूल्य निर्धारण, भण्डारण, प्रशोधन, प्याकेजिङ र वितरणको सम्पूर्ण शृंखलामा जोड्दै बिचौलियाको निर्भरता हटाउँने गरी काम गर्न लागेका छौँ । यसले किसानलाई उत्पादनको वास्तविक मूल्य दिन्छ र उपभोक्तालाई विश्वासिलो, गुणस्तरीय खाना उपलब्ध गराउँछ। यसरी, राष्ट्रिय खाद्य बैंकले मात्र व्यवसायिक रूपमा लाभ पुर्याउने छैन, नेपालमा खाद्य सुरक्षा र कृषि विकासको मार्ग पनि सुनिश्चित गर्छ ।
राष्ट्रिय खाद्य बैंकले आईपीओ ल्याउन लागेको छ, कम्पनीको वित्तीय अवस्था कस्तो छ, किन आईपीओ आवश्यक छ, र लगानीकर्ताले यसबाट के अपेक्षा गर्न सक्छन् ?
राष्ट्रिय खाद्य बैंकले आउँदो असोज २५ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ, जसले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । कुल पुँजी एक अर्ब जुटाउने उद्देश्यले ७० करोड प्रमोटरको तर्फबाट र बाँकी ३० करोड सर्वसाधारणबाट जुटाउने तयारीमा छौँ । यस आईपीओका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भइसकेको छ र सभाले पारित गरेसँगै प्रक्रिया सुरु हुनेछ । कम्पनीको वित्तीय अवस्था स्थिर र स्वस्थ छ । २०७७ सालमा स्थापना हुँदा अधिकृत पुँजी दुई अर्ब रुपैयाँ थियो र आज बैंक दीगो वित्तीय स्थिति कायम गर्दै अघि बढिरहेको छ । राष्ट्रिय खाद्य बैंक सरकारले तोकेका कानुन र नियमअनुसार सञ्चालन भइरहेको छ र सर्वसाधारणले आफ्नो लगानी सुरक्षित छ भन्ने विश्वास राख्न सक्छन् । आईपीओको उद्देश्य पुँजी जुटाउनु मात्रै होइन, यो बैंकको दीगो विकास, किसान र उपभोक्तासम्मको स्वास्थ्यवर्धक खाद्य उपजको पहुँच सुनिश्चित गर्न, उत्पादनदेखि बजारीकरणसम्मको सम्पूर्ण शृंखलालाई सुदृढ पार्न र लगानीकर्तालाई पारदर्शी, भरोसायोग्य अवसर प्रदान गर्न समेत रहेको छ । यसमा सहभागी हुनाले लगानीकर्ताले केवल वित्तीय लाभ मात्र होइन, राष्ट्रिय खाद्य सुरक्षा, स्थानीय उत्पादन प्रवद्र्धन र किसानहरूको आर्थिक सशक्तिकरणमा पनि प्रत्यक्ष योगदान दिन सक्नेछन् ।
राष्ट्रिय खाद्य बैंकको आईपीओमा सर्वसाधारणले लगानी गर्दा फाइदा चाँहि कति र कसरी हुन्छ ?
यो स्वाभाविक प्रश्न हो । आज बजारमा विभिन्न कम्पनीहरूले आईपीओ ल्याइरहेका छन्, कतिपय त भविष्यमा पनि स्थिरता नहुने कम्पनीहरू छन् । तर राष्ट्रिय खाद्य बैंक फरक छ, हामी निरन्तर उत्पादन र कृषिसम्बन्धी क्षेत्रमा सक्रिय छौँ र भविष्यमा पनि यही काम जारी राख्ने योजना बनाएका छौँ । लगानीकर्ताले आफ्नो लगानी यस्ता उत्पादनमा केन्द्रित कम्पनीहरूमा गर्नु उपयुक्त हुन्छ, जसले दीगो आर्थिक गतिविधि र वास्तविक उत्पादन सृजना गर्छ । राष्ट्रिय खाद्य बैंक किसानको “आलीदेखि उपभोक्ताको थालीसम्म” सम्पूर्ण शृंखलामा काम गर्दै आएको कम्पनी हो ।
यसमा लगानी गर्दा शंका गर्नु आवश्यक छैन । हाम्रो लक्ष्य केवल उत्पादनमा सीमित छैन, भविष्यमा राम्रो प्रतिफल सुनिश्चित गर्नु हो । छिमेकी देशको अमूल डेरीको शेयर मूल्य कित्तामै १८ हजार पुगेको उदाहरणले देखाउँछ कि दीगो र व्यवस्थित गतिविधिले लगानीमा उत्कृष्ट प्रतिफल दिन सक्छ । हामी पनि योजनाबद्ध रूपमा यही लक्ष्यतर्फ अघि बढिरहेका छौँ ।
त्यसैले सर्वसाधारणले राष्ट्रिय खाद्य बैंकको आईपीओमा ढुक्कले लगानी गर्न सक्नेछन्। हाम्रो स्थिर वित्तीय अवस्था, स्पष्ट योजना र उत्पादनमै केन्द्रित कार्यशैलीले लगानीकर्तालाई सुरक्षित र भरोसायोग्य अवसर प्रदान गर्दछ ।
आईपीओबाट संकलन गरिएको पुँजीलाई कसरी सहि तरीकाले व्यवस्थापन गर्नुहुन्छ ?
आईपीओबाट संकलन गरिएको पुँजी मुख्य रूपमा उत्पादन र कृषिसम्बन्धी उद्योगमा लगानी गरिनेछ । हाम्रो उद्देश्य नेपालमै उत्पादन प्रवर्धन गर्नु, नेपाली नागरिकलाई आर्थिक अवसर दिनु, नेपालको जिडिपीमा योगदान पुर्याउनु र कृषिमा रोजगारी सिर्जना गर्नु हो । हामी यो पुँजी केवल कृषि उत्पादन र त्यससँग प्रत्यक्ष सम्बन्धित उद्योगमा लगानी गर्नेछौँ । अन्यत्र वा गैर–कृषिसम्बन्धी क्षेत्रमा लगानी गरिने छैन । यसरी, लगानीकर्ताले आईपीओमा गरेको योगदान सीधै दीगो उत्पादन र राष्ट्रिय कृषि विकासमा प्रयोग हुने सुनिश्चित गर्न सक्नेछन् ।
अन्त्यमा केही सन्देश दिन चाहनुहुन्छ ?
राष्ट्रिय खाद्य बैंकले भविष्यमा पनि किसानको उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण शृंखलामा कामलाई निरन्तरता दिने योजना बनाएको छ । हामीले बिचौलियालाई हटाइसकेका छौँ र केवल उत्पादन भएका वस्तु मात्र खरिद गर्ने मात्र होइन, उत्पादन प्रक्रिया नै सहकार्यमा अगाडि बढाउँछौँ । स्थानीय तहसँग सहकार्य गर्दै माटो परीक्षण, विशेषज्ञ टोलीको मार्गदर्शन र उत्पादनको प्रारम्भिक चरणमै सहभागिता सुनिश्चित गरिन्छ। उत्पादित वस्तुको बजारको ग्यारेन्टी पनि हामीले सुनिश्चित गरेका छौँ। आगामी दिनमा प्रदेश र संघसँग समेत मिलेर काम गर्दै, राज्यलाई आर्थिक दृष्टिले सबल बनाउने र उपभोक्तालाई स्वास्थ्यवर्धक खानेकुरा उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।
ठूला स्केलमा काम गर्दा यसको प्रभाव पनि ठूलो हुनेछ । हामीले नेपाली उत्पादन विदेशमा निर्यात गर्ने योजना बनाएका छौँ । राष्ट्रिय खाद्य बैंक कृषिलाई औद्योगीकरणतर्फ लैजान कार्यरत छ । कृषिमा ट्र्याक खोलिसकिएको छ र चाँडै आवश्यक पूर्वाधार निर्माण गर्दै थप व्यवस्थित उत्पादन र वितरण प्रणाली स्थापना गर्ने तयारीमा छौँ ।