चर्चित

सामुदायिक वन उपभोक्ता महासंघको माग:
काठमाडौं: -सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मुलुकको पुनर्निर्माणमा स्वदेशी काठको अनिवार्य उपयोग गर्ने नीति ल्याउन सरकारलाई जोडदार सुझाव दिएको छ। महासंघले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत जेन-जी आन्दोलनपछि विकसित घटनाक्रमबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाली काठ प्रयोग गर्न सरकारलाई आग्रह गरेको हो।
महासंघका अध्यक्ष ठाकुर भण्डारीले किसानलाई ठूलो समस्या दिइरहेका बाँदर र बँदेलको व्यवस्थापनका लागि मार्न र बेच्न पाउने गरी स्पष्ट कानुन बनाउनुपर्नेमा पनि जोड दिनुभयो। यसले किसानको बालीनाली संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
पत्रकार सम्मेलनमा महासचिव पार्वता गौतमले फेकोफनले युवा पुस्तालाई सामुदायिक वनको नेतृत्वमा ल्याउन र वनमा उद्यमशीलता विकासका लागि अभियान नै चलाएको जानकारी दिनुभयो। उहाँले महासंघले संरचनागत रूपमै युवा र नयाँ पुस्तालाई समेटेको बताउँदै आगामी दिनमा सामुदायिक वनमा युवा सहभागिता अझ बढ्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघले सामुदायिक वनमा लाग्दै आएको तेहेरो करको अन्त्य गर्न र सामुदायिक वन गाभ्ने सरकारी नीति तत्काल रोक्न पनि माग गरेको छ। अध्यक्ष भण्डारीले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारले सामुदायिक वनलाई राजस्वको स्रोत मात्र देखेर सरकारको खर्च चलाउने गलत सोच राखेका कारण समस्या बढेको गुनासो गर्नुभयो। उहाँले सामुदायिक वनलाई थप जिम्मेवारी र अधिकार दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय