
सहकारी अभियानमा नयाँ व्यावसायिक आयाम
काठमाडौं, ०६ असोज – नेपालको सहकारी अभियानमा एक महत्वपूर्ण व्यावसायिक फड्को मार्दै डिजिटल बहुउद्देश्यीय सहकारी संस्था लि., स्वयम्भू, काठमाडौंले ‘डिजिटल हिमालयन चिया हाउस (फ्याक्ट्री आउटलेट)’ को पहिलो शाखा काठमाडौंको अनामनगरमा सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । यस आउटलेटको मुख्य उद्देश्य शेयर सदस्यहरूको आर्थिक सशक्तीकरण गर्नुका साथै स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा बजारीकरण गर्नु रहेको छ ।
आइतबार आयोजित एक विशेष समारोहका बीच नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा समाजसेवी श्री प्रल्हाद दाहालले रिबन काटेर चिया हाउसको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष एवं डिजिटल हिमालयन स्वीट्स एन ट्रीटसका संयोजक श्री दीपक चन्द्र गौतमले गरेका थिए । यस आउटलेटलाई सहकारी क्षेत्रमा सदस्यकेन्द्रित उद्यमशीलताको एक उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ ।
उद्यमशीलता र स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड
प्रमुख अतिथि दाहालले सहकारीले आफ्ना सदस्यहरूलाई उद्यमी बनाउन र प्रत्यक्ष आर्थिक लाभ पुर्याउने उद्देश्यले थालेको यो कार्यको उच्च प्रशंसा गर्दै यो फ्याक्ट्रीको आउटलेट तथा लाइभ चिया हाउस’ को अवधारणाले उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उत्पादन दिदै स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमका सभापति तथा सहकारीका अध्यक्ष दीपक चन्द्र गौतमले ‘डिजिटल हिमालयन चिया हाउस’ केवल एक व्यवसाय नभएर शेयर सदस्यहरूको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अभियान भएको बताँउदै यो आउटलेट नेपालका रैथाने फलफूल उत्पादन गर्ने किसान, चिया उत्पादक र उपभोक्तालाई सिधै जोड्ने एक सशक्त माध्यम बन्ने जानकारी दिए ।
गुणस्तरीय उत्पादन र उत्कृष्ट उपभोक्ता अनुभव
डिजिटल हिमालयन स्वीट्स एन ट्रीटसका बजार व्यवस्थापन प्रमुख राजन तिमिल्सीनाले संस्थाको बजार रणनीतिको बारेमा प्रकाश पार्दै ‘डिजिटल हिमालयन चिया हाउस’ ले उपभोक्तालाई केवल उत्पादन मात्र नभई एक उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताए । स्
राष्ट्रिय विस्तारको योजना
सहकारीले यस व्यवसायलाई देशभर विस्तार गर्ने बृहत् योजना बनाएको छ । अध्यक्ष गौतमका अनुसार, चालू आर्थिक वर्षभित्र काठमाडौंका विभिन्न ९ वटा स्थानमा र आगामी वर्षभित्र नेपाल अधिराज्यका विभिन्न प्रमुख सहरहरूमा गरी कुल २६ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । यो योजनाले सहकारीका सदस्यहरूलाई व्यापक रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै नेपाली चिया र रैथाने उत्पादनको ब्रान्डिङ र बजारीकरणमा समेत महत्वपूर्ण टेवा पुरÞ्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा सहकारीका सचिव तथा उद्योग व्यवस्थापक अशोक खनाल, कोषाध्यक्ष युदेश सिंह महर्जन, उद्योगका सह–व्यवस्थापक मदन विकास महर्जन, उच्च व्यवस्थापन समितिका संयोजक बासु प्रसाद न्यौपाने लगायत अन्य पदाधिकारी, शेयर सदस्यहरू तथा स्थानीय व्यक्तिहरूको उत्साहजनक उपस्थिति रहेको थियो