उत्पादनमुखी नीतिमा मन्त्रीको जोड
नेपाल डेरी एसोसिएसनको २७औं वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । महाधिवेशनले दाहाललाई आगामी कार्यकालका लागि पुनः सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक प्रह्लाद महतका अनुसार नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपप्रसाद धमला र उपाध्यक्षहरूमा मनोजकुमार यादव, योगेन्द्र चिमौरिया, कर्णबहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी र रामभक्त दाहाल निर्वाचित भएका छन् ।
त्यसैगरी, कार्यसमितिको महासचिवमा हेमचन्द्र खनाल, सचिवमा शिवहरी आचार्य, कोषाध्यक्षमा शिवलाल भुसाल, उपमहासचिवमा विजयप्रसाद चौरासिया, सहसचिवमा रमेश सञ्जेल र सहकोषाध्यक्षमा आशिषकुमार बुढाथोकी चयन भएका छन् । महाधिवेशनले विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व हुने गरी २२ सदस्यीय केन्द्रीय सदस्य समेत निर्विरोध निर्वाचित गरेको छ ।
अनुदानमुखी होइन, उत्पादनमुखी नीति आवश्यक: मन्त्री पौडेल
महाधिवेशनको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले नेपालको अर्थतन्त्रको मुख्य मेरुदण्ड पशुपालन र कृषि नै भएको उल्लेख गरे । उनले अब सरकारी नीतिहरू केवल अनुदान बाँड्ने खालका मात्र नभई प्रतिफल दिने सुनिश्चितता भएका उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।
“बर्सेनि उत्पादन घट्नु र आयात बढ्नु मुलुकका लागि ठुलो चुनौती हो,” मन्त्री पौडेलले भने, “उत्पादन बढाउन र दुग्ध क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान गर्न सरकार व्यवसायी र कृषकसँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।”
व्यवसायीका पीडा र नीतिगत झन्झट
नवनिर्वाचित अध्यक्ष प्रह्लाद दाहालले नेपाली दुग्ध व्यवसायको वर्तमान अवस्था र व्यवसायीले भोग्नुपरेका नीतिगत झन्झटबारे जानकारी गराए ।। उनले व्यवसायीमैत्री नीतिको अभावमा लगानी जोखिममा परेको बताउँदै राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, बागमती प्रदेश कृषि मन्त्रालयका महानिर्देशक उमेश दाहाल र केन्द्रीय सदस्य डीबी बस्नेत लगायतले बोलेका थिए । । उनीहरूले दुग्ध क्षेत्रको विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र सहजीकरण गर्ने नीति लिनुपर्नेमा जोड दिएका थिए ।
नेपालभरका दुग्ध व्यवसायीहरूको सहभागिता रहेको उक्त महाधिवेशनले आगामी कार्यकालका लागि ठोस कार्ययोजना समेत तय गरेको छ ।









