किसानले भित्र्याए २२ करोड रुपैयाँ
गोरखा जिल्लामा यस वर्ष सुन्तला उत्पादन र कारोबारमा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई गोरखा अनुसार चालु आर्थिक वर्षमा जिल्लाको सुन्तला उत्पादन करिब १५ देखि २० प्रतिशतले वृद्धि भई ३ हजार १८७ मेट्रिक टन पुगेको छ ।
उत्पादनमा आएको उत्साहजनक बढोत्तरीसँगै जिल्लाको ग्रामीण अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ । यस वर्ष गोरखाका किसानले सुन्तला बिक्रीबाट मात्रै करिब २२ करोड रुपैयाँ आम्दानी गरेका छन् । सुन्तलासँगै कागती बिक्रीबाट समेत थप १ करोड ५० लाख रुपैयाँ जिल्ला भित्रिएको कार्यक्रमकी सूचना अधिकारी पूजा रेग्मीले जानकारी दिइन् ।
विगतका वर्षहरूमा लगाइएका नयाँ बोटले उत्पादन दिन सुरु गर्नु र यस वर्ष मौसम समेत अनुकूल रहनुलाई उत्पादन बढ्नुको मुख्य कारण मानिएको छ । तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा १ हजार ८०० मेट्रिक टन र आव २०८०/८१ मा १ हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा यस वर्षको उत्पादनले किसानलाई व्यावसायिक खेतीतर्फ थप उत्साहित बनाएको छ ।
जिल्लालाई सुन्तला खेतीमा आत्मनिर्भर र व्यावसायिक बनाउन सरकारले ‘सुन्तला जोन’ कार्यक्रममार्फत लगानी बढाएको छ । कार्यक्रम कार्यान्वयन एकाई गोरखाकि प्रमुख पूर्ण ढुङ्गानाले सुन्तला जोन कार्यक्रम अन्तर्गत बगैँचा व्यवस्थापन, चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण र आधुनिक कृषि उपकरण वितरण जस्ता कार्यक्रमले उत्पादनको गुणस्तर र परिमाण बढाउन सहयोग पुगेको बताइन् । उनका अनुसार सुन्तला जोन बाहिरका क्षेत्रमा पनि करिब १० प्रतिशत उत्पादन हुने गरेको छ ।
हाल जिल्लाको करिब १ हजार ९७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ, जसमा करिब ३०० किसान व्यावसायिक रूपमा आबद्ध छन् । गोरखाका गण्डकी, सहिदलखन, भीमसेनथापा र सिरानचोक गाउँपालिकासहित गोरखा र पालुङटार नगरपालिकाका विभिन्न वडाहरूलाई सुन्तलाको मुख्य पकेट क्षेत्र मानिन्छ । यस्तै, उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा समेत सुन्तला उत्पादन हुँदै आएको छ ।
गोरखामा उत्पादित ‘खाकु’ र स्थानीय जातका सुन्तला बजारमा निकै लोकप्रिय छन् । कृषि ज्ञान केन्द्र गोरखाले पनि किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । मौसमको अनुकूलता र किसानको मेहनतले गोरखालाई सुन्तला उत्पादनको केन्द्र (हब) का रूपमा स्थापित गर्दै लगेको छ ।









