पर्यटन र कृषिलाई उच्च प्राथमिकता
काभ्रे । ‘नतिजामुखी नेतृत्व र सुदृढ अर्थतन्त्र’ को दीर्घकालीन संकल्पसहित उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। काभ्रे निर्वाचन क्षेत्र नम्बर २ की प्रत्यक्ष उम्मेदवार ई. ज्योत्सना सैंजुले सार्वजनिक गरेको उक्त रणनीतिक मार्गचित्रमा देशको आर्थिक मेरुदण्डका रूपमा रहेका क्षेत्रहरूको आमूल परिवर्तन र संस्थागत सुधारको खाका प्रस्तुत गरिएको छ। पार्टीले परम्परागत राजनीतिक आश्वासनभन्दा माथि उठेर व्यावसायिक र कार्यान्वयनयोग्य योजनाहरूलाई प्राथमिकतामा राखेको छ।
घोषणापत्रमा पर्यटन क्षेत्रलाई मुलुकको मुख्य आयस्रोत र विदेशी मुद्रा आर्जनको प्रमुख आधार बनाउने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरिएको छ। यसका लागि राष्ट्रिय ध्वजावाहक हवाई सेवाको व्यापक संरचनात्मक सुधार र सुदृढीकरण गर्दै हवाई यातायात व्यवस्थापनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उच्च प्रविधियुक्त बनाइने उल्लेख छ। विशेषगरी काभ्रेको भौगोलिक विशिष्टता र प्राकृतिक सौन्दर्यलाई विश्वव्यापी बजारमा ब्रान्डिङ गर्दै यस क्षेत्रलाई एकीकृत ‘पर्यटनमैत्री पर्यटकीय हब’ का रूपमा विकास गर्ने ठोस योजना अघि सारिएको छ।
कृषिलाई आधुनिक उद्योगका रूपमा रूपान्तरण गर्ने नीति लिँदै घोषणापत्रले काभ्रेलाई कृषिमा आधारित आर्थिक केन्द्र बनाउने संकल्प गरेको छ। जसअन्तर्गत उन्नत बिउ, मल, सिँचाइ र आधुनिक ‘सिड बैंक’ को सहज उपलब्धता सुनिश्चित गर्दै उत्पादित वस्तुको भण्डारणका लागि अत्याधुनिक कोल्ड स्टोर र बजारको ग्यारेन्टी गरिनेछ। महाभारत लेक क्षेत्रलाई जडिबुटी उत्पादन तथा व्यावसायिक प्रशोधन केन्द्रका रूपमा विकास गरी जिल्लालाई आत्मनिर्भर बनाइनेछ भने विदेशी काठको आयातलाई प्रतिस्थापन गरी स्थानीय काठकै प्रयोगलाई प्रवर्द्धन गर्ने ‘आत्मनिर्भर वन नीति’ अवलम्बन गरिने उल्लेख छ।
ऊर्जा क्षेत्रमा क्रान्तिकारी फड्को मार्दै आगामी १० वर्षभित्र १० हजारदेखि १५ हजार मेगावाट विद्युत् उत्पादन गरी ऊर्जा निर्यातमामार्फत दक्षिण एसियाकै नेतृत्व गर्ने लक्ष्य राखिएको छ। यसका लागि काभ्रेमा सुनकोशी तेस्रो लगायतका गौरवका आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ। पूर्वाधारतर्फ विगत आधा दशकदेखि निर्माणमा सुस्तता देखिएको अरनिको राजमार्ग र बनेपा–बर्दिवास सडक खण्डलाई ‘फास्ट ट्र्याक’ मोडेलमा तत्काल सम्पन्न गर्ने योजनालाई विशेष महत्त्वका साथ समावेश गरिएको छ।
प्रविधि र नवप्रवर्द्धनलाई आर्थिक वृद्धिको आधार मान्दै पार्टीले एआई (AI), रोबोटिक्स र स्टार्टअप अनुसन्धानका लागि कुल बजेटको १ प्रतिशत लगानी गर्ने र वैदेशिक लगानी (FDI) आकर्षित गर्न एकीकृत कानुन निर्माण गरी सहजीकरण गर्ने नीति लिएको छ। साथै, महिला सशक्तीकरणका लागि उद्यमशीलता र राजनीतिक समावेशीकरण, ज्येष्ठ नागरिकको सम्मानजनक सामाजिक सुरक्षा र खानेपानीको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धतासहित उम्मेदवार सैंजुले आफूहरू भाषणभन्दा परिणाम दिन सक्षम नेतृत्व प्रदान गर्न तत्पर रहेको दाबी गरेकी छिन्।









