कृषि, ऊर्जा र रोजगारीमार्फत समृद्धि ल्याउने सङ्कल्प
काठमाडौँ । आगामी निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं १० मा चुनावी सरगर्मी बढेसँगै उज्यालो नेपाल पार्टीका उम्मेदवार डा. राकेश न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। मतदाताको घरआँगनमा पुगेर डा. न्यौपानेले आफ्नो स्पष्ट दृष्टिकोण र समृद्धिको खाका प्रस्तुत गरिरहेका छन्।
कृषि र ऊर्जालाई युवाको रोजगारीसँग जोड्ने अभियान
यस पटकको निर्वाचनमा डा. न्यौपानेले कृषि, पर्यटन र ऊर्जा क्षेत्रको एकीकृत विकासलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेका यी तीन क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउँदै नेपाली जनताको आयआर्जन वृद्धि गर्ने र स्वदेशमै पर्याप्त रोजगारीका अवसरहरू सिर्जना गर्ने उनको ठोस योजना छ। “हामीसँग स्रोत र साधन छ, तर सही दृष्टिकोणको अभाव छ। म कृषि र ऊर्जालाई युवाको रोजगारीसँग जोडेर आर्थिक क्रान्ति ल्याउन चाहन्छु,” घरदैलोका क्रममा मतदातासँग उनले भने।
नेपालको ग्रामीण स्वास्थ्यको स्तरवृद्धि
चर्चित चिकित्सक तथा समाजसेवीका रूपमा स्थापित डा. न्यौपानेले २०७२ सालको विनाशकारी भूकम्पका बेला देशका विभिन्न दुर्गम तथा ग्रामीण भेगमा पुगेर स्वयंसेवी चिकित्सकका रूपमा अहोरात्र सेवा गरेका थिए। सोही समयमा उनले ग्रामीण नेपालको स्वास्थ्य, सामाजिक र आर्थिक चुनौतीहरूलाई नजिकबाट नियाल्ने अवसर पाएका थिए। ती आधारभूत समस्याहरूलाई नीतिगत तहबाटै समाधान गर्न आफू राजनीतिमा होमिएको उनले बताए।
युवामैत्री रोजगारीको सिर्जना
उनको अभियानमा सामाजिक न्याय, सुशासन, गुणस्तरीय शिक्षा र स्वास्थ्यका साथै विशेष गरी युवामैत्री रोजगारी ले प्राथमिकता पाएको छ। “युवाहरू खाडीमा पसिना बगाउन बाध्य छन्, यो अवस्थालाई बदल्न पर्यटन र ऊर्जा क्षेत्रमा ठूलो लगानी र अवसरको सिर्जना गर्न जरुरी छ,” डा. न्यौपानेले थपे।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बाराबाट स्वतन्त्र उम्मेदवारका रूपमा उत्रिएर राम्रो छाप छोडेका डा. न्यौपाने यस पटक भने उज्यालो नेपाल पार्टीको झण्डामुनि रहेर काठमाडौँ-१० का जनताको सेवा गर्न चुनावी मैदानमा छन्। एक सफल चिकित्सक र समाजको नजिक रहेर काम गरेको व्यक्तिको रूपमा उनलाई यस क्षेत्रका मतदाताले निकै उत्साहका साथ स्वागत गरिरहेका छन्।
शिक्षा, स्वास्थ्य र आर्थिक समृद्धिको स्पष्ट एजेन्डा बोकेका डा. न्यौपानेको उपस्थितिले काठमाडौँ क्षेत्र नं १० को प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।









