विजय कुमार शर्मा रुकुम पश्चिम (चौरजारी–१३) का एक जुझारु युवा हुन्, जसले नेपाली माटो र पसिनाको सम्बन्धलाई नयाँ उचाइ दिएका छन्। पेशाले कुशल पशु व्यवसायी शर्मा ‘आफ्नो पसिनामा हुर्कने नागरिक कसैको गुलाम हुँदैन’ भन्ने विद्रोही र स्वाभिमानी चेत राख्दछन्।
लामो समयदेखि पशुपालनलाई व्यावसायिक रूप दिएर आत्मनिर्भर बनेका शर्माले नेपाली युवालाई स्वदेशमै रोजगारी खोज्न प्रेरित गर्दै आएका छन्। उनी केवल उद्यमी मात्र नभएर एक प्रखर लेखक पनि हुन्। उनले आफ्ना पुस्तक र लेखहरूमार्फत नेपालमा कृषि आधुनिकीकरण र औद्योगिक क्रान्तिको वकालत गर्दै ‘नेपालको माटो, नेपालीकै धन’ भएको सन्देश प्रवाह गरेका छन्।
हाल उनी ‘स्थिर सरकार : युगको आवश्यकता’ भन्ने नाराका साथ माघ २१ गते झापाको मेची पुलबाट १२०० किलोमिटरको मेची–महाकाली पैदल यात्रामा निस्किएका छन्। देशमा राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको चाहना बोकेर सडकमा उत्रिएका शर्मा यात्राका क्रममा नागरिकलाई सचेत गराउँदै र आफ्ना भोगाइहरू लिपिबद्ध गर्दै अगाडि बढिरहेका छन्।
पशुपालनको गोठदेखि महाकालीको तटसम्मको यो यात्राले उनलाई एक सचेत नागरिक, सफल कृषक र राष्ट्रवादी अभियन्ताका रूपमा स्थापित गरेको छ।









